फागुन ८, काठमाडौँ | वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्केका न्यूनतम तीन हजार जनालाई लक्षित गरेर पुनः एकीकरणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७९ जारी भएसँगै चालू आर्थिक वर्षबाट कार्यक्रम सुरु गर्ने गरी तयारी गरेको हो ।
बोर्डका सूचना अधिकारी मैयाँ कँडेलले पहिलो वर्ष वैदेशिक रोजगारबाट फर्किएका तीन हजार युवालाई लक्षित गरी ‘पाइलट प्रोजेक्ट’का रूपमा पुनः एकीकरणका कार्यक्रम सञ्चालनका लागि तयारी गरेको जानकारी दिए । उक्त कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा बढी गएका १५६ वटा स्थानीय पालिकालाई कार्यक्रमको प्रस्ताव पठाइएकोमा अधिकांशबाट आइसकेको पनि उनले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्षमा १५ करोड रुपियाँ विनियोजन गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।