सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी

Posted on: 09 Nov, 2023

कार्तिक २३, काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् ।​

बिहीवारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुख्यमन्त्रीको हैसियतमा धर्ना दिने बताएका हुन् । ​

प्रदेशसभा सदस्य गोम्बु शेर्पाले नेपालको संविधानले संघ, प्रदेश तथा स्थानीय तहका  साझा अधिकार सूचीमा रहेको अधिकारमा आवश्यक कानून बनाएर कार्यान्वयन नगर्दा प्रदेश र स्थानीय तहमा धेरै समस्या भएको भन्दै मुख्यमन्त्रीलाई यसमा तपाईँको कार्य योजना के रहेको छ, भनेर प्रश्न सोधेका थिए ।


जवाफमा मुख्यमन्त्री कार्कीले संघीय सरकारले संविधान कार्यान्वयन गर्नुभन्दा पहिलो कार्यकालमा प्रदेश सरकारले कानूनहरू धेरै बनाएको बताएका थिए ।

संघले प्रदेश र स्थानीय तहलाई दिने साझा सूचीका अधिकारहरूका कानून बनाउने भन्दा सरकार फेरबदल गर्ने र सरकार बचाउने खेलमा संघीय सरकार लागेको उनको आरोप छ ।

‘संघीय संसदमा कहिले प्रदेशहरूलाई तुच्छ बोल्ने, गन्दै नगन्ने जस्ता प्रायोजित कुरा गरेर उहाँहरूले समय बिताउनुभयो,’ मुख्यमन्त्री कार्कीले भने, ‘अहिले पनि प्रदेश र स्थानीय तहलाई स्थापित गर्ने संविधानको अधिकार प्रत्यायोजन गर्ने कानून बनाउन ढिला गर्दै हुनुहुन्छ ।’​

संघीय संसदमा प्रदेशलाई होच्याएर बोल्ने गरेको  उनले आरोप लगाए । प्रदेश निजामती सेवाको कानून अगाडि बढ्दै गएको र  प्रदेशसभामा पनि विचाराधीन रहेकाले केही राम्रो संकेत आइरहेको उनले बताए । अब त्यही अवस्थामा पनि बस्न नसक्ने उनको भनाइ छ ।

‘नेपालको संविधानअनुसार प्रदेशलाई दिने अधिकार प्रदेशमा ल्याउनका लागि अघिल्लोपटक मैले संघीय सरकारलाई मुद्दा हाल्ने कि भनेको थिएँ । तर त्यति बेला म दोस्रो बरियतामा थिएँ । अहिले म पहिलो दर्जामा पुगेको छु,’ उनले भने, ‘संघीय सरकारले कब्जा गरेका अधिकार ल्याउनका लागि मुद्दा हाल्न पनि सक्छौं ।  संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमै ल्याउनका लागि सिंहदरबार मै धर्ना दिन पनि सकिन्छ । छिटै आएन भने र उहाँहरूले तदारुकता देखाउनु भएन भने सिंहदरबारमा म आफैं मुख्यमन्त्रीको हैसियतमा धर्ना दिन्छु र प्रदेशको अधिकार छिटै ल्याउन लाग्छु । म सम्मानित सभासँग अनुमति पनि माग्छु ।’ 

यस्तै मुख्यमन्त्री कार्कीले सर्वदलीय सहमतिको सरकार बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।​

प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले उठाएको प्रश्नको जवाफ दिँदै उनले एमालेकै एजेन्डाअनुसार सहमतिको सरकार बनाउन आफू लागेको बताए ।

‘पहिले तपाईँ आफै प्रदेश केन्द्रले चलाउने होइन भनेर प्रदेशसभामा बुरुक्क-बुरुक्क गर्नुहुन्थ्यो । अहिले एमालेको सहयोगमा मुख्यमन्त्री बनेपछि केन्द्रबाटै परिचालित हुन थाल्नुभयो । त्यही भएर एमालेलाई खोलो तरेपछि लौरो बिर्सेजस्तो गर्नुभयो । अब एमालेलाई के गर्नुहुन्छ ?’ भन्दै राजभण्डारीले मुख्यमन्त्री कार्कीलाई प्रश्न गरेका थिए ।

राजभण्डारीको प्रश्नको जवाफमा मुख्यमन्त्री कार्कीले आफू सरकारलाई एमालेको समर्थन कायमै रहेको बताए । ‘एमालेले अहिलेको सरकारलाई समर्थन जारी राखेको छ । एमालेका मन्त्रीज्यूलाई मैले सरकारबाट निकालेको होइन । उहाँहरू  आफैले राजीनामा दिनुभएको हो ।  मैले लौरो बिर्सेको छैन । बरु लौरो आफैं आवेशमा, इमोसनमा आएर निस्कनु भयो । म एमालेलाई साथै लिएर हिँड्न प्रतिबद्ध छु,’ मुख्यमन्त्री कार्कीले भने । 

मुख्यमन्त्री कार्कीले एमालेका माननीयहरूलाई दौरा सुरुवाल लगाएर मन्त्री हुने तयारीमा बस्न समेत आग्रह गरेका छन् । 

कोशी प्रदेशमा पहिलोपटक मुख्यमन्त्रीसँग ‘प्रश्न उत्तर’ कार्यक्रम भएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!