सांसदको जिम्मेवारी एक र भूमिका अनेक : नेता रायमाझी

Posted on: 20 Nov, 2023

मङ्सिर ४, काठमाडौँ | नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट छैनन् । उनी कानुन निर्माणमा मात्र नभई सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नै पनि त्यति सहज ढङ्गबाट कार्यान्वयन हुन नसकेकामा स्पष्ट छ ।     

‘सांसदसँग रासस संवाद’ मा नेता रायमाझीले बजेट ल्याइएपछि हालसम्मको कार्यान्वयनको अवस्थाले आफूहरूको काम गर्ने ढाँचा र गति किटान गरेको उदाहरण प्रस्तुत गरे ।  उनले कानुन निर्माणका लागि सरकारले सदनमा ठीक समयमा विधेयक नल्याएका कारण यस्तो अवस्था आएको आरोप पनि लगाए ।    

सांसद रायमाझीले भने, “विधायकको मूल जिम्मेवारी कानुन बनाउने हो । सदन र समितिमा त्यसकै लागि प्रभावकारी भूमिका खेल्नुपथ्र्यो ।  विजनेस दिने काम त सरकारको हो नि,  त्यो हुँदै भएन ।  अनि सांसदले पनि उत्साहजनक भूमिका खेल्न पाएनन् ।”

पछिल्लो प्रतिनिधिसभाको निर्वाचन भएको आज ठीक एक वर्ष पुगेको छ । यस अवधिमा सदनका दुई अधिवेशन चले । यसबीचमै सदनले सरकार गठन ग-यो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र  विषयगत समितिका सभापतिको चयन भयो । सरकारको वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत भई छलफल हुनाका साथै आर्थिकलगायत कतिपय विधेयक पारित भए भने केही सदन र विषयगत समितिमा छलफलका चरणमा छन् ।   

विसं २०४३ देखि महेन्द्र बहुमुखी क्याम्पस राजविराजमा विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएका रायमाझीसँग २०५४ सालमा रौता गाविस–५ का निर्वाचित सदस्य तथा पार्टी गाउँ कमिटी र इलाका सचिव भई काम गरेको अनुभव छ । उनले उदयपुर–काठमाडौँ सम्पर्क मञ्च र सगरमाथा अञ्चल सम्पर्क कमिटी अध्यक्ष,  प्रदेश नम्बर १ सम्पर्क कमिटी सचिवालय सदस्य र महाधिवेशन प्रतिनिधिको जिम्मेवारीसमेत सम्हालेका छन्।

विधायक  रायमाझीले सांसदको महत्त्वपूर्ण भूमिका कानुन बनाउनु नै भए पनि नेपाली समाज र भूगोललगायत कारणले तिनले विकासनिर्माणमा नेतृत्व तथा अन्य सामाजिक दायित्वको भूमिका निर्वाह गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको प्रतिक्रिया दिए । उनले भने, “कानुन निर्माणमा भूमिका खेल्दाखेल्दै पनि निर्वाचन क्षेत्रलाई समृद्ध तुल्याउन, चुनावी घोषणापत्र कार्यान्वयन गर्न र ठीक ढङ्गले विकासलाई अघि बढाउन सांसदले अरू जिम्मेवारी पनि लिनुपर्ने अवस्था छ ।”    

स्थानीय तह तथा प्रदेश र सङ्घीय सरकारले गर्ने काम फरक फरक रहँदा रहँदै पनि मतदातामा सांसदले सबै खाले भूमिका खेलिदिओस् र सहभागी होइदिओस् भन्ने चाहना रहेको उल्लेख गर्दै उनले जनताका अपेक्षा र निर्वाचनका वाचा पूरा गर्नु आफ्नो बाध्यता रहेको स्पष्ट पारे ।    

उदयपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित रायमाझीका अनुसार मदन भण्डारी राजमार्ग, मिर्चैया–कटारी–घुर्मी–हलेसी जोड्ने सडक, सुनकोशी कोरिडोरलगायत सडक र पहुँच मार्ग जिल्लाका प्राथमिकतामा परेका आयोजना हुन् । कमला र त्रियुगालगायत नदी तटबन्ध र एकीकृत आयोजना, बजार बस्ती विकास, नापी र जग्गाधनी प्रमाणपुर्जा वितरण, लिफ्टिङ खानेपानी, उज्यालो २ नम्बर विद्युतीकरण, राष्ट्रिय राजमार्गमा ट्रमा अस्पताल, ५० शय्याको व्यवस्थित जिल्ला अस्पताल र विद्यालय सुधारका कार्यक्रम पनि जिल्लाका उल्लेखनीय कार्यक्रम हुन् ।    

संसदीय नियमावलीको पालना गर्दै मर्यादापूर्वक आफ्ना अभिव्यक्ति राख्नेतर्फ जनप्रतिनिधि सधैँ सजग हुनुपर्ने सुझाव दिँदै प्रतिनिधिसभा सदस्य रायमाझीले सांसद देश र जनहितमा दूरगामी असर पु¥याउने कानुन निर्माण र ऐनमा देखिएका अड्चन सुधार गर्नसक्ने हुनुपर्नेमा जोड दिए । एक  जिज्ञासामा एमाले नेता रायमाझीले भने, “भ्रष्टाचार सबैको शत्रु हो, देश र जनतालाई सुशासन र समृद्धि दिने हो भने कुशासन नियन्त्रण र कारबाहीलाई प्रभावकारी बनाइनुपर्छ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!