पढ्न करिब 1 मिनेट लाग्छ

माघ ६, रुकुम । स्थानीय तह पुनःसंरचना गर्दा आफ्नो गाविसमा गाउँपालिकाको केन्द्र नभएको भन्दै पूर्वी रुकुमको तकसेरावासी आन्दोलित भएका छन् ।

आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा तकसेरामा केन्द्र नभएपछि उनीहरुले आज जिल्ला विकास समितिको कार्यालय परिसरमा तीन घन्टा नाराबाजीसहित प्रदर्शन गरेका छन् । आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा प्रस्तावित पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र कोल गाविसमा प्रस्ताव गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

स्थानीय तह पुनःसंरचना गर्दा जिल्लामा रहेका राजनीतिक दल र प्राविधिक समितिले नै आफूहरुलाई अन्याय गरेकाले आन्दोलन गर्नुपरेको आन्दोलन समितिका संयोजक जुद्ध बुढा मगरले जानकारी दिनुभयो ।

आयोगको कार्यविधि र मापदण्ड विपरीत गाउँपालिकाको केन्द्र तकसेराबाट अन्यत्र बनाइएको उहाँको आरोप रहेको छ । तकसेरामा गाउँपालिकाको केन्द्र नबनाएसम्मका लागि यहाँका सबै राजनीतिक दलका सदस्यहरुले सामूहिक राजीनामा समेत दिएका छन् । साथै उनीहरुले तकसेरामा केन्द्र नभएसम्म त्यहाँ निषेधित क्षेत्र घोषणा गरेका छन् ।

यता स्थानीय तह पुनःसंरचना प्राविधिक समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले आफूहरुले जिल्लाका गाउँपालिका र नगरपालिकाको केन्द्र कुनै पनि ठाउँमा नतोकेको बताउनुभयो ।

जिल्लामा हुने स्थानीय तहका लागि कुनै पनि ठाउँमा केन्द्र नतोकिएको र कुन गाउँ वा नगरपालिकाको केन्द्र कहाँ छ भन्ने कुराको समेत आफूहरुलाई आधिकारिक रुपमा कुनै जानकारी नरहेको उहाँले बताउनुभयो । रासस