पढ्न करिब 2 मिनेट लाग्छ

बैशाख १९, डडेल्धुरा । स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा ९ दलले चुनाव चिह्न पाएका छन् । जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका १३ दलमध्ये नौँ वटा दलले मात्रै चुनाव चिह्न पाएका हुन् ।

स्थानीय तहको निर्वाचनका लागि चुनाव चिह्न पाउने दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी रहेका छन् ।

त्यस्तै, नेकपा माले, नेकपा संयुक्त, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र संघिय समाजवादी फोरम नेपाल पार्टीले चुनाव चिह्न पाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दीलिप कुमार तामाङले जानकारी दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका दलमध्ये नेपाल दलित पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रीक पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीले चुनाव चिह्न पाएका छैनन् ।

संघिय समाजवादी फोरम नेपाल पार्टी जिल्ला निर्वाचन कार्यालयमा दर्ता नभएको र निर्वाचन आयोगले मतपत्रमा उक्त पार्टीको चुनाव चिह्न राखेर पठाएकाले उक्त पार्टीले पनि चुनाव चिह्न पाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तामाङले बताउनु भएको छ ।

संघिय समाजवादी फोरम नेपाल पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेको हुन सक्ने र त्यही भएर उसले चुनाव चिह्न पाएको उनले बताएका छन् । चुनाव चिह्न नपाएका दलले पनि स्वतन्त्र रुपमा चुनाव लड्न पाउने र सोहीअनुसारको चुनाव चिह्न दिने व्यवस्था गरिएको छ ।

संसद्मा प्रतिनिधित्व गरेका २७ दलले मात्रै चुनाव चिह्न पाएको बताउँदै सूचना अधिकारी तामाङले चुनाव चिह्न नपाएका दलहरु संसद्मा प्रतिनिधित्व नगर्ने भएकाले उनीहरुले चुनाव चिह्न नपाएको बताएका छन् ।