काठमाडौँ | लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीडित नाबालिकासँग माफी माग्दै न्यायको प्रतीक्षा गर्न आग्रह गरेका छन्।
एमालेकी सांसद शर्मामाथि आफ्नै घरमा नाबालिकालाई घरेलु कामदार राखेर बालश्रम गराएको र कुटपिट गरेको आरोप लागेको थियो। काठमाडौं महानगरपालिकाको कार्यदलले ती नाबालिकालाई उद्दार गरी संरक्षण गृहमा राखेको थियो।
तर, सरकारी वकिलको कार्यालयले शर्माविरुद्ध कानुनी कारबाही अघि नबढाउने निर्णय गरेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै पीडित बालिकासँग माफी मागेका छन्। उनले फेसबुकमा लेखेका छन्, “सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु, समय आउनेछ।”
उनले अन्य बालबालिकालाई शिक्षा र सामाजिक चेतनाको आवश्यकता रहेको भन्दै भने, “यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्नुपर्छ, समाज बुझ्नुपर्छ।”
एमालेकी प्रदेश सांसद शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ ।