काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसका अवसरमा लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्।
प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई स्थापित गरेको बताएका छन्।
उनले भने ‘लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धि सहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ’।
राष्ट्रपति पौडेलले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई पथप्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति पनि सम्मान एवं श्रद्धा प्रकट गरेका छन् ।