काठमाडौँ | शनिबार मध्याह्न काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७, नामी कलेज नजिकै बागमती नदीमा एक व्यक्तिले पूजा गर्ने क्रममा नदीको बीच भागमा ठूलो पोको देखे ।
पानीमा डुबेको अवस्थामा रहेको उक्त पोकोबाट मानव हात देखिएपछि प्रहरीलाई खबर गरियो । त्यसपछि प्रहरी टोली घटनास्थलमा पुग्यो ।
पोको खोलेर जाँच गर्दा एक महिलाको शव भेटियो । जसको उमेर करिब ३०-३५ वर्षको अनुमान गरिएको छ । शव बोरामा बेरेर तन्नाले बेरिएको अवस्थामा फेला परेको थियो । घटनालाई शंकास्पद मान्दै प्रहरीले अनुसन्धान अघि बढायो ।
अनुसन्धानका क्रममा प्रहरीले एक नाबालकसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा सर्लाहीका कैलाश खड्का (२५ वर्ष), मकवानपुरका सुरेश तामाङ (२०), नुवाकोटका रोशन तामाङ (२४), सिन्धुपाल्चोककी पूजा परियार (२०), पेम्बा तामाङ र एक नाबालक रहेका छन् ।
हत्यामा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध अदालतबाट अनुसन्धानका लागि ६ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू काठमाडौंका विभिन्न स्थानमा मजदुरी गर्ने समूहका हुन् । उनीहरू निश्चित काम र बसोबासबिना गोजीमा पैसा सकिएपछि मात्र श्रम गर्ने अनि केही रकम भएपछि काम छोड्ने प्रवृत्तिका रहेको अनुसन्धानले देखाएको प्रहरी स्रोतको भनाइ छ ।
घटनाको रात उनीहरूले मदिरा र गाँजा सेवन गरेको खुलेको प्रहरीको भनाइ छ । राति उनीहरू एउटै कोठामा सुतेका थिए, तर बिहानसम्म कैलाश र सुरेश फरार भएका थिए । पूजाले प्रहरीलाई दिएको बयानअनुसार बिहान उठेर मृतकलाई उठाउन खोज्दा उनी अचेत अवस्थामा फेला परिन् ।
शवमा कुनै बाहिरी चोटपटक नदेखिएकाले मृत्युको कारण पुष्टि हुन बाँकी छ । पक्राउ परेकाहरूले फसिने डरले शव चार दिनसम्म कोठामै लुकाएको र पछि बोरामा प्याक गरी बागमतीमा फालिएको बयान दिएका छन् ।
सीसीटीभी फुटेजमा चार जनाले शव बोक्दै नदीतर्फ लगेको देखिएको छ । शव व्यवस्थापनपछि समूहका सदस्यहरू छुट्टाछुट्टै भागेका थिए । तर, प्रहरीको अनुसन्धानबाट उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ । घटनाबारे थप खुलासा पोस्टमार्टम रिपोर्टपछि मात्र हुने प्रहरीको भनाइ छ ।