काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका भूतपूर्व महामन्त्री डा. मुकुल ढकालले सो पार्टीका सभापति रवि लामिछानेले पूर्वराजासँग भेटेर राजसंस्था पुनर्स्थापनाबारे छलफल गरेको स्मरण गरेका छन् । पार्टी स्थापना हुनुभन्दा अगाडि लामिछानेले पूर्वराजालाई भेटेर गरेको छलफल सार्थक हुन नसकेको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले लामिछाने त्यसबेला राजा ल्याउने पक्षमा रहेको पनि बताएका छन् ।
उनको स्टाटस यस्तो छः
‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि “राजतन्त्र“ को लाइन लिने कि “गणतन्त्र“ को भनेर रवि दाइ र मबीच छलफल भयो । त्यतिबेला छलफल गर्नका लागी कोहि थिएन, जे जति हुन्थ्यो, हामी दुइबीच नै हुन्थ्यो । राजासँग भेट्न रवि दाइ झापासम्म जानु भयो । राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुइ–चार पटक कुरा पनि भयो । रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो ।
त्यतिबेला मैले रवि दाइलाई भने, “राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नपर्छ । जसलाई ल्याउन खोजेको हो, उ आफैँले त ’म आउने हो’ भन्न पर्यो नि ।“ राजा बोल्न तयार भएनन् , तर त्यसपछी पनि रवि दाइले “राजतन्त्र“ लाई कुनै न कुनै ढङ्गले समेटौ भनिराख्नु भयो । मैले प्रस्ताव राखे, रवि दाइले त्यहि अनुसार राजासँग पनि कुरा गर्नु भयो । मेरो प्रस्ताव थियो – “राजाको नीजि सम्पत्ति नहुने , जनताले राजालाई पाल्ने , राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तिमा हालका प्रदेश राजधानीमा एक–एक वटा ठुला स्कुल र अस्पताल खोलौँ । यति घोषणा गरि एकैपटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ ।“ राजाबाट सकारात्मक कुरा आएन । राजाबाट सकारात्मक कुरा नआएपछि, गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौँ ।’