2026-07-02 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस्’

2017-09-14

भदौ २९, लहान । सिरहाको गोलबजार नगरपालिका–१० धोवियाझारस्थित मुसहर बस्तीमा भोट माग्न पुग्ने उम्मेदवारले त्यहाँको स्थानीय मतदाताबाट एउटै उत्तर पाउँछन् – शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस् । 

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहर बस्ती पुग्ने उम्मेदवार स्थानीयवासी मतदाताको यो जवाफ सुनेपछि केही क्षण अक्कमक्कमा पर्ने गरेका छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिकाको चोहर्वाबाट पाँच किलोमिटर उत्तर घुर्मी खोलाको पूर्वी किनारमा रहेका ४० घरको सदाय (मुसहर) बस्ती शौचालयविहीन छ ।  पूरै बस्ती नै शौचालयविहीन हुँदा यहाँका सर्वसाधारण शौच गर्न बाँसघारी तथा नजिकैको नदीमा पुग्ने गरेका छन् । 

दैनिक मजदुरी र दाउरा बेचेर गुजारा चलाउँदै आएका यो बस्तीका मतदाता भन्छन्, “बस्तीमा सुरक्षित आवास र शौचालय बनाइदिने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छौँ ।”  अर्थाभावका कारण शौचालय बनाउन नसकेकी ४५ वर्षीया फूलकुमारी सदा शौचालय बनाउने वचन दिने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा पुगेको बताउनुहुन्छ । 

सधैँभरि मजदुरी गरेर परिवार पाल्दै आउनुभएकी फुलकुमारी भन्नुहुन्छ, “नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो । अरुबेला उहाँहरुको अनुहारै देख्न पाइँदैन । यो चुनावमा राम्रो बास र शौचालयको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिनेछु ।” 

पचास वर्षीय झौला सदाय पनि घर र शौचालय बनाइदिने उम्मेदवारलाई मात्र मत दिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वर्षौंदेखि हामीले भोट हालेर मन्त्री बनाएकै छौँ तर, जितेर गएपछि नेताहरु पुनः आफूहरुको समस्या बुझ्नै आउँदैनन् । त्यसैले यही बेला हो नेताहरुसँग केही कुरा माग्ने ।” 

“पछिल्लोपटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि मत दिएर जितायौँ, तर हाम्रो अवस्था भने जस्ताको तस्तै रह्यो,” उहाँ अगाडि थप्नुहुन्छ, “अब जसले हाम्रो बस्ने घर र शौचालय बनाइदिन्छ उसैलाई मत दिन्छौँ ।” 

करिब २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा मत हाल्न आतुर रहेका यहाँका मतदाता पहिला जोसुकैलाई मत दिए पनि यसपालिको चुनावमा उहाँहरुले उचित बास र शौचालय खोज्नुभएको छ । 

माटोको भित्ता र खरको छानोबाट बनेका स–साना झुुप्रा घर भएको उक्त बस्तीका मतदाता भन्छन्, “हामीलाई घाम पानी छेक्ने राम्रो घर र शौचालय चाहिएको छ । यसको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिन्छौँ ।” 

बस्तीमा शौचालय नभएकाले स्थानीयवासी २५ वर्षीया तारादेवी सदा र ४० वर्षीया रामवत्ती सदाले नागरिकता पनि बनाउन नपाएको गाउँलेको भनाइ छ । घरमा शौचालय नभएकालाई गाउँपालिकाले नागरिकताका लागि सिफारिस नगर्ने नियम बसालेका कारण उहाँहरुले नागरिकता बनाउन नपाएको सुखरीदेवी सदाको कथन छ । 

“अर्थाभावकै कारण शौचालय बनाउन सकेको छैन,” रामवत्ती सदा भन्नुहुन्छ, “शौचालय बनाउन मन नभएर नबनाएको होइन । कमाइले खान लाउनै पुग्दैन, कसरी घर र शौचालय बनाउने हो ?” “पहिला पहिलाको चुनावमा नेताहरुले पैसा बाँडेर जित्ने गरेका थिए तर, अब हामी त्यस्तो हुन दिँदैनौँ, त्यसका लागि हामी एक भएका छौँ”, स्थानीयवासी जितन सदाले भन्नुभयो । 

वर्षौंदेखि ऐलानी जमिनमा बस्दै आएको यहाँका मुसहर बस्तीका कसैको नाममा पनि जमिन दर्ता भएको छैन । स्थानीयवासी अगुवा ५५ वर्षीय कृष्णकुमार लामा आफू बुझ्ने भएदेखि नै देखेको यो बस्ती अझै पनि ऐलानी नै रहेकाले पनि घर र शौचालयको समस्या देखिएको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “गाउँकै टाठाबाठाले सदायहरु बसेको वरपरको जमिन नम्बरी गराए तर, सदायहरुको अझै नम्बरी भएको छैन । मुसहर समुदाय बसोबास गरेको सबै जमिन ऐलानी नै हो ।” 

कूल आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता रहेका छन् । जिल्लामा २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । राजु विश्वकर्मा/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै