
काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको विद्रोह सरकार, देश र जनताविरुद्ध भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २३ र २४ भदौको सबै कुरा देश, जनता र एमाले सरकारविरुद्ध आयोजना गरेको दाबी गरेका छन् । उनले भने, ‘२३ र २४ भदौमा भएकाको जे नाम दिए पनि हाम्रोविरुद्ध, हाम्रो सरकारका विरुद्ध, देश र जनताविरुद्ध आयोजना गरेको थियो । हाम्रो नीति र विचारका विरुद्ध थियो ।’
उनले कानुनविपरीत विघटन गरेको संसद पुनर्स्थापना गर्न पनि आफूले साथ नपाएको गुनासो गरे । उनले भने, ‘संसद पुनर्स्थापना गर्नतर्फ जाऊँ भन्दा साथ पाएनौँ । एमालेविरुद्ध भएको सबै जनमत आफ्नो भागमा आउँछ । एमालेका विरुद्ध फैलाइएको घृणाको लाभ पाउने आस गरेर चुनावमा गएकाहरूलाई पनि अहिले ठिक्क परेको छ । एमाले तेस्रो पार्टी भयो । उहाँहरूको अवस्था देखिहालियो ।’
एमालेले धक्का खाएको भए पनि त्यो आफ्नो र पार्टीको नीतिका कारण नभएको बताए । उनले भने, ‘एमाले बिग्रेको छैन । मैले सच्चिनुपर्ने केमा हो ? पार्टी विचारहीन बनाउनुपर्यो कि ? नत्र केमा सच्चिने ? हामी सही ठाउँमा छौँ । सांगठनिक हिसाबले कमजोर भएका छौँ । नीतिमा कुनै त्रुटि छैन । हाम्रो सही नीतिमाथि प्रहार हुँदा झेल्न सकेनौँ । यसमा हीनताबोध नगर्नुहोस् ।’
उनले सांसदहरूलाई संसदीय मोर्चामा खरो उत्रन र प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निभाउन पनि निर्देशन दिएका छन् । उनले भने, ‘प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निभाउनुपर्छ । सरकारका खराब काम, कमी कमजोरीको खबरदारी गर्नुपर्छ ।’संसदमा पार्टीका विचारभन्दा बाहेक मलाई यस्तो लाग्यो भनेर नबोल्न पनि निर्देशन दिएका छन् । उनले भने, ‘पार्टी एकताबद्ध र एक ढिक्का भएर अघि बढ्नुपर्छ । जति बेला पार्टी प्रतिकूल अवस्थामा हुन्छ, त्यतिबेला पार्टीभित्र अनेक प्रकारका समस्या निकाल्नु उपयुक्त हुँदैन । हामी आफू खुसी चल्न त्यहाँ पुगेका होइनौँ ।’
ओलीले राष्ट्रलाई क्षत्विक्षत् गर्ने प्रयास भइरहेको पनि बताएका छन् । उनले भने, ‘जातजातमा विभाजन भएको छ । जातलाई मत दिनु गलत हो । जनतालाई विभाजन गर्ने काम भएको छ । एमालेविरुद्धको कुप्रचार रोक्नुपर्छ ।’सांसदहरूसँग ओलीले २०७६ देखि २०७८ सालसम्म आफ्नै पार्टीभित्रबाट आफ्नै सरकार ढाल्ने खेल भएको आरोप लगाए । उनले भने, ‘२०७४ देखि २०७९ सम्म संसदमा अराजकताको पराकाष्ठा थियो । आफ्नै सरकार ढाले । सरकारले असाधारण काम गर्दा पनि आफ्नैहरूले उछितो काढे । अन्याय अत्याचार भयो भन्ने भाष्य बनाइयो । घृणा फैलाइयो । विपक्षीलाई मत दिएर सरकार बनाइयो । लोकतन्त्रविरुद्ध भद्दा क्रियाकलाप भए । नेताहरूले गलत बोटोको अभ्यास गरे ।’
सांसदहरूलाई निर्देशन दिँदै ओलीले संसद र सडकमा मोर्चाबाट लड्ने बताएका हुन् । छिट्टै अभिमुखीकरणको कार्यक्रम राखेर सांसदलाई विज्ञबाट प्रशिक्षित गर्ने बताएका छन् ।