2026-07-03 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनले तात्दै रामेछाप, मतको जोडघटाउ गर्दै राजनीतिक दल

2017-11-18

मङ्सिर २, मन्थली । नजिकका हिमशृंखलाले यहाँका कतिपय ठाउँमा चिसो बढाएको भएपनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहलले पूरै रामेछाप जिल्लाको माहोललाई तताइदिएको भान हुन्छ । 

जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा नुम्बुर हिमाल शृङ्खलाका कारण चिसो बढेर जनजीवन कष्टकर बनेको छ । तथापि आगामी मङसीर १० गते हुन लागेको निर्वाचनमा खस्ने मतको जोडघटाउ गर्दै राजनीतिक दल र तिनका कार्यकर्ता मन्थलीको चोकचोकमा चिया गफमा व्यस्त देखिन्छन । धेरैजना भने प्रचारका लागि गाउँ गाउँ गएका छन् । 

गाउँ गाउँमा राजनीतिक दल र तिनका उम्मेदवार खेतवारीमै पुगेर भोट मागिरहेका छन् । यहाँ वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुबैले आ–आफनो चुनावी रणनीति बनाएर मतदाता आकर्षित गर्न खोजिरहेका छन् । राजनीतिक दलका चुनावी सभा, घरदैलो, कोणसभा र प्रचार ¥याली दुर्गम गाउँघरमै बढी केन्द्रित रहेको देखिएको छ । 

रामेछापको दुर्गम क्षेत्र मानिने गौश्वारा, गुम्देल, कुभुकास्थली, प्रिति, भुजि र दुरागाउँलगायतका दर्जनौं ठाउँमा पार्टीका झण्डा र उम्मेदवारको आउजाउले चुनावी तापमान बढाएको देखिन्छ । 

गाउँ र टोल पुगेका वाम गठबन्धनका उम्मेदवारहरु भनिरहेका छन् – ‘‘मेरुदण्डको रुपमा रहेको गाउँ जोड्ने सडकलाई कालोपत्र गरिनेछ र अँध्यारो जिल्लालाई उज्यालो बनाइने छ ।” 

उनीहरुले विभिन्न राष्ट्रिय गौरबका आयोजना पूरा गरेर आर्थिक वृद्धि हासिल गर्न सकिने र त्यसबाट जनताको जीवनस्तर उठ्ने तर्क अघि सार्दै जिल्लाको सुख्खाग्रस्त दक्षिणी भेगलाई हरियाली बनाउने अठोट व्यक्त गरिरहेका छन् । 

खाणाँदेवी गाउँपालिका–१ धारापानीका बासिन्दा भीम बहादुर श्रेष्ठले खानेपानीको चर्को समस्या भोग्नुपरेको दुखेसो सुनाउनुभयो । उहाँले लामो समयसम्म टुकी बालेर बसेको स्मरण गदै विद्युतीकरण भए आफूहरुलाई स्वर्गानूभुति हुने बताउनुभयो । राजनीतिक दलले वर्षौदेखि विकासका कुनै काम गर्न नसकेकामा उहाँलाई खिन्न लाग्छ । 

छ वटा गाउँपालिका र दुई नगरपालिका रहेको रामेछापमा कूल १ लाख ५२ हजार ५५९ मतदाता रहेका छन् । यी मतदातामा १७ हजार ९३९ नयाँ मतदाता थपिएका हुन् । यसअघि १ लाख ३४ हजार ६२० मतदाता रहेका थिए । 

प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी) का श्यामकुमार श्रेष्ठले भौगोलिक विकटताकाबीच पनि मतदाताको घरघर पुगेर जनताको समस्या बुझ्ने काम गरेको उल्लेख गर्दै जिल्लामा खानेपानी, विद्युतीकरण, सडक कालोपत्र गर्ने काम विकासका प्रमुख चुनावी एजेण्डा भएको बताउनुभयो । यस जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एउटै मात्र निर्वाचन क्षेत्र बनाइएको छ । 

लामाबगरबाट चीनसँग अन्तरदेशीय मार्गमार्फत ‘कनेक्टिभिटी’ गर्न सकिने र यहाँ जलस्रोतको अपार सम्भावना भएकाले त्यसको अध्ययन गरेर जनताको जीवनस्तरलाई माथि उठाउन सकिने उहाँ बताउनुहुन्छ । 

प्रदेश (क) का नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले कृषकहरु खेत खेतमा व्यस्त रहेकाले खेतमा पुगेरै भोट मागिएको जानकारी दिँदै कृषिको क्षेत्रमा ‘सुपरजोन र पकेट क्षेत्र’को अवधारणालाई मूर्त रुप दिएर कृषिलाई उद्योगसँग जोड्न आफ्नो योजना रहेको बताउनुभयो । 

उहाँले खिम्ती खोला, लिखु नदी र तामाकोशी–सुनकोशी नदीमा बन्ने ५०० मेगावाटको हाइड्रोपावर, ठोसे जलाशययुक्त आयोजना, सुनाकोशी–३ जलविद्युत् आयोजना, लिखु–१ जलविद्युत् आयोजनाको अध्ययन गरेर तीन वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य भएको पनि सुनाउनुभयो । 

उम्मेदवार पौडेल भन्नुभयो – “दक्षिण भेगमा खानेपानीका मुहान सुकेका छन् । त्यसैले लिखु र तामाकोशीबाट लिफ्टको माध्यमबाट खानेपानीको समस्या समाधान गर्छौं ।” 

लोकतान्त्रिक गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेपाली काँग्र्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) ले आफूसँग विकास कार्यको अनुभव भएको दाबी गर्दै पाँच वर्षको अवधिमा स्काभेटर चलाएर गाउँ गाउँमा बाटो पु¥याउन सकिन्छ भन्नुभयो । 

जिल्लाका दुर्गम क्षेत्रको विकास गर्ने योजना आफूसँग भएको र काम गर्ने अवसर दिइए अबका केही वर्षपछि जिल्लामा खानेपानी, बिजुली र सडकको समस्या नहुने उहाँको भनाइ छ । 

प्रदेश (क) मा ७३ हजार १७६ र प्रदेश (ख) मा ७९ हजार ३८९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, रामेछापले जनाएको छ । जिल्लामा ९० मतदान स्थल र १९१ मतदान केन्द्र छन् । रामेछापका निर्वाचन अधिकारी कपिल उपाध्यायले गत कात्तिक २५ गतेदेखि १९१ जना स्वयंसेवक मतदाता शिक्षाका लागि परिचालित भएको जानकारी दिँदै निर्वाचन सामग्री दुई चरणमा पु¥याउने तयारी भइरहेको बताउनुभयो । 

उहाँका अनुसार पहिलो चरणमा ३ गते र दोस्रो चरणमा ५ गते मतपेटिका, मतपत्र, स्वस्तिक छाप, परिचयपत्र लगायत ६७ किसिमका निर्वाचन सामग्री गाउँगाउँ पु¥याइने छ । यस निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरीसहित २ हजार २५० सुरक्षाकर्मी परिचालन भएका छन् । परिचालित कर्मचारीको संख्या १ हजार ५२८ छ । 

रामेछापमा मन्थली नगरपालिकाको १ देखि १६ वडा, पुराना गाउँ, चनखु, गेलुकेको १ देखि ९ वडा, रामेछाप नगरपालिकाको १ देखि ९ वडा, गोठगाउँ, देउराली, साँगुटार, हिमगंगा, रामपुर साविकका गाविस वा नगरपालिका मिलाएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र बनाइएको छ । 

त्यस्तै, गाउँपालिका, गुम्देल, बाम्ती, कुभुकास्थली, प्रिति, गुप्तेश्वर, भूजि साविकका गाविस मिलाएर उमाकुण्ड गाउँपालिका बनाइएको छ । 

राकाथुम, भलुवाजोर, भिरपानी, पकरबास, माकादूम, खाँडादेवी, गागलभदौरे र पिङ्खुरी साविकका गाविस मिलाएर खाँडादेवी गाउँपालिका भएको छ । 

चुचुरे, ठोसे, रस्नालु, वेताली, नामाडी, फर्पु साविकका गाविस मिसाएर गोकुलगंगा गाउँपालिका, डडुवा, दोरम्बा, टोकरपुर, गौश्वारा, लखनपुर मिसाएर दोरम्बा गाउँपालिका, दुरागाउँ सैपु, बिजुलीकोट, नागदह, खिम्ती, तिल्पुङ्ग मिसाएर लिखु गाउँपालिका, गुन्सी १ देखि ७ वडासम्मको क्षेत्र, दिमीपोखरी, बेथान, हिलेदेवी, खनीयापानी जोडेर सुनापति गाउँपालिका बनाइएको छ । 

त्यस्तै, रामेछाप, रामपुर, हिमगंगा, साँघुटार, देउराली गोठगाउँ मिसिएर रामेछाप नगरपालिका बनेको छ भने साविकका मन्थली, कठजोर, भलुवाजोर, सालु, सुनारपानी, चिसापानी, गेलु, पुरानागाउँ, चनखु र फुलासी गाविस मिसिएर मन्थली नगरपालिका बनेको छ । 

विसं २०४८, २०५१ र २०५६ मा नेकपा (एमाले) र नेपाली काँग्रेसले एक÷ एक स्थानमा जीत हासिल गरेको थियो । विसं २०६४ को संविधानसभाको निर्वाचनमा दुई सिटमै तत्कालीन नेकपा माओवादीले जीत हासिल गरेको यस जिल्लामा विसं २०७० मा एकमा माओवादी र अर्कोमा नेपाली काँग्रेस जितेका थिए । स्थानीय तहको निर्वाचनमा ८ स्थानीय तहमध्ये एमालेले ५ र नेकपा (माओवादी केन्द्र)ले दुईमा र नेपाली काँग्रेसले एकमा विजयी भएको थियो । 

सरकारी तथ्याँक अनुसार रामेछापमा २६ प्रतिशत क्षेत्री, २० प्रतिशत तामाङ, १४ प्रतिशत नेवार, ८ प्रतिशत मगर, ५ प्रतिशत ब्राह्मण, १ प्रतिशत सुनुवार, १ प्रतिशत शेर्पा रहेका छन् । यस बाहेक माझी, हायु, थामी जस्ता सिमान्तकृत समुदायको पनि यस जिल्लामा बसोवास रहेको छ । युवराज पाण्डे/रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ