माघ ८, काठमाडौँ | नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई राष्ट्रियसभामा जान पार्टी नेतृत्वले प्रस्ताव गरेको छ । तर, गोरखा २ मा प्रत्यक्ष चुनाव लडेर हार व्यहोरेका श्रेष्ठ राष्ट्रियसभाको चुनाव नलड्ने मुडमा देखिएको एक नेताले बताएका छन् ।
श्रेष्ठलाई माओवादी अध्यक्ष प्रचण्डले पार्टी बैठकमा मात्र नभई, एमाले र माओवादी शीर्ष नेताहरुले समेत पार्टी एकता संयोजन समितिमा नै श्रेष्ठलाई राष्ट्रियसभामा जाने प्रस्ताव गरेपनि श्रेष्ठ भने चुनावमा भाग नलिने मुडमा देखिएका हुन् ।
माओवादी केन्द्रले नेता रामबहादुर थापा बादललाई राष्ट्रिय सभामा पठाउने तयारी गरेको छ ।
वाम गठबन्धनको भागवण्डामा माओवादीले १४ सिट पाएको छ । जसमध्ये प्रदेश ३ को खुलातर्फ एक सिट माओवादीको मागमा परेको छ । त्यसै सिटमा माओवादीले वादललाई पठाउने तयारी गरेको जनाइएको छ ।