"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>
२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्प पीडित रश्मिला भन्छिन् प्रधानमन्त्री ओलीको बोलिमात्रै, ‘आश दिए बास दिएनन्’

२०७५, १८ बैशाख मंगलवार १०:५४

वैशाख १८ भक्तपुर। ‘ख्याट ख्याट ख्याट ख्याट………..’ लुगा सिलाउने मेशिन चलाउँदै तीन वर्षअघि भूकम्पले ढालेको जीवन सिलाउने प्रयास गरिरहनुभएको छ, रश्मिला अवाल ।


भक्तपुर नगरपालिका महाकाली मन्दिरको ठिक पछाडि मच्छेनारायण मन्दिरसँगै रहेको घरको एउटा कोठाको कुनामा लुगा सिउने मेशिन चलाउन व्यस्त हुनुहुन्छ उहाँ । त्यही कोठाको अर्को कुनामा खाना पकाउने ग्यास र चुलो । दायाँबायाँ दुई वटा साना खाट, सँगै जोडेर राखिएको दराज, नजिकै पानीको ड्रम । एउटै कोठामा चारजनाको सिंगो परिवार अटाएका छन् खाँदिएर ।

विसं २०७२ वैशाख १२ गतेको ‘गोरखा’ भूकम्पले मूलढोकामा रहेको आफ्नै घर भत्काएर पुरिएको पाँच महिनाको बालक सोनिसलाई २२ घण्टापछि नेपाली सेनाको उद्धार टोलीले जीवितै उद्धार गरेका थिए । दोस्रो जीवन पाएर चर्चामा आएका त्यहाी बालक अहिले चार वर्ष पुगे ।

भाडामा लिएको त्यही एउटा कोठा सिंगो संसार बनेको रश्मिलाको परिवारलाई भूकम्पले सुकुम्बासी नै बनाइदियो । भूकम्पले घर भत्किएर पुरिएकी नौ वर्षीया छोरी सोनियाको स्थानीयवासीले दुई घण्टापछि र पाँच महिनाको छोरा सोनिस पुरिएको २२ घण्टापछि नेपाली सेनाको उद्धार टोलीले जीवितै उद्धार गरेपछि सिंगो परिवारले दोस्रो जीवन पाएको महसुस गरेका थिए ।

लुगा सिलाउने मेशिन चलाउँदै रश्मिला भन्नुहुन्छ, “तीन वर्षअघि भूकम्पले ढालेको जीवन सिलाउने प्रयास गरिरहेका छौँ तर, यता सिलायो, उता प्वाल, उता सिलायो यता प्वाल भने जस्तै भएको छ हाम्रो जीवन ।”

दोस्रो जीवन पाएको सोनिस यस वर्षदेखि विद्यालय जान थालेको छ । छोरालाई विद्यालय पुर्याएर फर्केपछि लुगा सिलाउने काममा व्यस्त रहने रश्मिला विद्यालय विदा भएको बेलामा लुगा सिलाउने कल रोकिने गरेको बताउनुहुन्छ ।

घर भएको जग्गाको आफ्नै नाममा लालपूर्जा नहुँदा न त उनीहरुले भूकम्पपीडितको परिचयपत्र नै पाए, न त कुनै अनुदान नै । रश्मिला भन्नुहुन्छ, “भूकम्पले ढालेको जीवन म लुगा सिलाएर उठाउने प्रयास गरिरहेछु । मेरा श्रीमान् गाडी कुदाएर परिवार धान्ने प्रयास गरिरहनु भएको छ तर, जीवन अब उड्ला भन्ने आशा मारिसकेको छु ।”

मूलढोकाको घरमा लुगा सिलाएर गुजारा चलाउँदै आएका यो परिवारलाई भूकम्पले सुकुम्बासी बनाइदिएको छ । भाइसल्लाह नमिल्दा सवारी चालकको काम गर्दै आउनुभएका उहाँको श्रीमान् श्याम अवालले घर बनाउन पाउनु भएन ।

भूकम्पले सँगैको घरमा पुरिएका जेठाजूका दुई छोरीको ज्यान गयो तर उहाँका दुवै छोराछोरीको जीवितै उद्धार भयो । नयाँ जीवन पाएका छोराछोरीलाई कसरी हुर्काउने र पढाउने भन्ने चिन्ता पनि उहाँलाई उत्तिकै छ ।

रश्मिला भन्नुहुन्छ, “छोरी डाक्टर पढ्छु है आमा भन्छे । चार वर्षको छोरा दिदीसँगै म पनि डाक्टर बन्ने भन्छ । गतिलो बास बनाउन नसक्ने हामीले कसरी छोराछोरीको इच्छा पूरा गर्नु र खै ? हाम्रा लागि सबै सपना हुन् ।”

छोरी सोनिया आफू राम्ररी पढेर डाक्टर बन्ने इच्छा भएको बताउनुहुन्छ ।

जिल्ला प्रशासन कार्यालयदेखि वडा कार्यालयसम्म भूकम्पपीडितको परिचयपत्र लिन जाँदा लालपूर्जा नहुनेले पाउँदैनन् भन्दै फर्काएपछि निराश हुनुभएका रश्मिलालाई अब सरकारले दिने अनुदानको कुनै आशा छैन ।

रश्मिला र श्यामलाई छोराछोरीको पढाइ खर्च कसरी जुुटाउने र स्थायी बासको व्यवस्था कसरी गर्ने भन्ने चिन्ताले सताउने गरेको छ । अन्यत्र पनि सम्पत्तिको नाममा कुनै जग्गा जमिन नभएपछि उनीहरु सुकुम्बासी नै बनेका छन् ।

रश्मिला भन्नुहुन्छ, “सरकारले ढलान घर भएका, दुई चारवटा घर भएकालाई भूकम्पपीडितको परिचयपत्र र राहत दियो तर वास्तविक भूकम्पपीडित हामीले लालपूर्जा नभएकै कारण केही पाएनौँ । हाम्रो उठिवास लाग्यो । छोराछोरीलाई पढाउने व्यवस्था कतैबाट भए जीवन सजिलो हुने थियो ।”

प्रधानमन्त्री केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीसँग सिधा कुरा भन्ने टेलिभिजनको कार्यक्रममा भेटेर सबै कुरा राख्नुभएका उहाँलाई प्रधानमन्त्रीको आश्वासन पनि पूरा नहुँदा अब आशाका सबै ढोका बन्द भए झैँ लागेको छ ।

रश्मिला भन्नुहुन्छ, “प्रधानमन्त्रीले स्थायी बासको व्यवस्था गरिदिन्छौँ भन्नुभएको थियो तर, आशैआशमा बित्यो । उहाँ दोस्रो पटक प्रधानमन्त्री हुनुभयो तर, हामीले पाएको आश्वासन पूरा भएन । अब त सबै आशा मरेर गयो ।”

प्रधानमन्त्री ओलीले तत्कालै राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अवाल परिवारलाई बासको व्यवस्था गरिदिन निर्देशन दिनुभएको थियो । त्यसको केही दिनपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले उहाँको अवस्था त बुझ्यो तर बासको व्यवस्था भने भएन ।

उहाँ भन्नुहुन्छ, “सोनिस स्कूल जाने भएको छ । यसवर्षदेखि व्यासीमा स्कूल भर्ना गरिदिएँ । स्कूलले छात्रवृत्ति दिए हुन्थ्यो भनेको तर दिएन । लुगा सिलाएकै पैसा जोहो गरेर जसोतसो भर्ना गरेँ । नेपाली सेनाले केही भरथेग गर्दिन्छु भनेको छ । छोराको पढाइमा सेनामाथि आशा राखेको छु तर, छोरीको सपना कसरी पूरा गर्ने थाहा छैन ।”

भूकम्पमा पुरिएका बालक सोनिसलाई २२ घण्टापछि उद्धार गरेको नेपाली सेनाले उसको पढाइको जिम्मेवारी उठाउने प्रतिबद्धता जनाएको छ । कक्षा ६ देखि भक्तपुरकै सैनिक महाविद्यालयमा भर्ना गरेर पढाइदिने र त्यसअघि पनि उसको पढाइमा सहयोग गरिदिने प्रतिबद्धताले भने उनलाई निकै हौसला मिलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर