वैशाख २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा चुनौती दिनेहरुमाथि सरकार कडा रुपले प्रस्तुत बताए।
राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनता र जातको नाममा आतंक फैलाउनेहरुलाई नछोडिने बताए । उनले राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला अवरोध गर्न खोज्नेहरुसंग सरकार चुप लागेर नबस्ने पनि बताए |
उनले भने , ‘राष्ट्र निर्माणको बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला भद्काउन खोज्ने बिखण्डनको कुरा गर्नेहरुसंग सजग हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा छिटै अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताए । ‘अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो’ उनले भने, ‘कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन दुष्प्रयास गर्छ त्यसलाई ठीक लाउने ठाउँमा हामी छौं ।’
राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निवार्ह गरेको उनले बताए । ‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रै देखि बलियो बनाउनु पर्छ’ प्रधानमन्त्री ओलीले भने, भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र हुँदैन ।’