२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेतृत्वविहीन ‘नेपाल विद्यार्थी सङ्घ’

२०७५, ८ चैत्र शुक्रबार ०७:३२

अच्युत रेग्मी | चैत ८, काठमाडौँ | नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ । 

नेविसङ्घ को ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले राजीनामा दिइसकेको अवस्थामा पनि तदर्थ समिति गठन नहुँदा नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको छ । 

नेपाली काङ्ग्रेसका प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसङ्घको विसं २०७३ साउनमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले विसं २०७५ माघमा राजीनामा दिएसँगै नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको हो । नेपाली काङ्ग्रेसको नर्सरीका रुपमा रहेको नेविसङ्घमा अहिले अध्यक्ष नहुँदा १२औँ महाधिवेशनसमेत अन्योलमा परेको छ । 

मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको नेविसङ्घको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ । विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको नेविसङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गर्नुभयो । नेविसङ्घको पहिलो अध्यक्ष विपिन कोइराला हुनुहुन्छ । 

स्थापनाकालदेखि हालसम्म आइपुग्दा छ अध्यक्ष निर्वाचित, सात अध्यक्ष तदर्थ र पाँच अध्यक्ष सर्वसम्मत नेतृत्व लिएको पाइन्छ । नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ निर्वाचित केन्द्रीय समितिले समयमा अधिवेशन गर्न नसक्दा अहिलेको अवस्था आएको बताउनुहुन्छ । “पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ । 

नेविसङ्घ निवर्तमान केन्द्रीय सदस्य सुनिता पोखरेल पार्टीले निर्माण गर्न लागेको नेविसङ्घको तदर्थ समितिको नेतृत्व महिलाले पाउनुपर्ने बताउनुहुन्छ । “नेविसङ्घमा अहिलेसम्म धेरै पुरुष नेतृत्वमा पुगेका छन्, अहिले महिलालाई तदर्थ समितिको अध्यक्ष बनाएर महाधिवेशनमा जानुपर्छ”, उहाँ भन्नुहुन्छ । नेविसङ्घका निवर्तमान कोषाध्यक्ष शिव रिमाल पार्टीले ३२ वर्ष कम उमेरका विद्यार्थीलाई अध्यक्ष बनाएर तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताउनुहुन्छ । “विधानमा उल्लेख भएअनुसार तत्काल समिति बनाएर केन्द्रीय महाधिवेशनमा नेविसङ्घ जानुपर्छ”, उहाँ भन्नुहुन्छ । 

वर्तमान नेतृत्वले आम विद्यार्थीमाझ शैक्षिक मुद्दा लिएर जान नसक्नु र विद्यार्थीलाई निराश पार्ने प्रवृत्तिको काम गरेको उहाँको भनाइ छ । नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी मुलुकको लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी यो अवस्थामा आइपुग्नु दुःखद् भएको बताउनुहुन्छ । 

“हाम्रै कार्यसमिति निर्वाचन गराउन सक्षम थियो, तर अध्यक्षले कसैसँग छलफल नगरी राजीनामा दिँदा यो अवस्थामा आएको हो”, उहाँ भन्नुहुन्छ । पार्टीका नेताको गैर जिम्मेवारीपनका कारण तदर्थ समिति गठन हुन नसकेको उहाँको भनाइ छ । नेविसङ्घका पूर्वअध्यक्ष रञ्जीत कर्ण पार्टीले तत्काल तदर्थ समिति बनाएर छ महीनाभित्र महाधिवेशन गराईसक्नुपर्ने बताउनुहुन्छ । “वडा, स्थानीय, जिल्ला प्रदेश र केन्द्रको निर्वाचनको कार्यतालिका र कार्ययोजना बनाएर नेविसङ्घको महाधिवेशन तत्काल गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ । 

नेविसङ्घको ४८ वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन नेविसङ्घका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो भने अरु अध्यक्षले समयमा अधिवेशन गर्न सक्नुभएन । 

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुभएको छ । 

यस्तै विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचनबाट जितेर अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सक्नुभएन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी नेविसङ्घको महाधिवेशन समयमा हुन नसक्नु नेविसङ्घ र पार्टी नेतृत्वको कमजोरी भएको बताउनुहुन्छ । “पार्टीले तत्काल तदर्थ समिति बनाएर निर्वाचनको वातावरण निर्माणमा लाग्नुपर्छ”, उहाँ भन्नुहुन्छ । विद्यार्थीबीच लोकप्रिय सङ्गठन बनाउने व्यक्तिलाई तदर्थ समितिको नेतृत्व दिनुपर्ने उहाँको भनाइ थियो । 

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा नेविसङ्घभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताउनुहुन्छ । “विधान र प्रक्रियाअनुसार नै नेविसङ्घको तदर्थ समिति बन्छ”, उहाँ भन्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !