वैशाख ३०, तनहुँ | व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । दमौली अस्पतालमा सामान्य उपचार पश्चात् पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

‘केही मिनेट अगाडी मात्र दमौली अस्पतालको एम्बुलेन्समार्फत पोखरा पठाइएको छ’, उनले भने । प्रहरी निरीक्षक अधिकारीका अनुसार जोशीको आँखाको माथिपट्टी टाउकोमा चोट लागेको छ ।

जोशीलाई सुरुमा उपचारका लागि काठमाडौं लाने भनिएको थियो । एकातिर मौसम बिग्रेको र अर्कोतिर हेलिकोप्टर नपाएपछि एम्बुलेन्समार्फत पोखरा लगेको बुझिएको छ ।

व्यास नगरपालिका–८ रिस्तीमा रिस्ती गाविस भवन मतदान केन्द्रको निरीक्षणमा गएका जोशीलाई कांग्रेसका कार्यकर्ताले कुटपिट गर्दा उनी घाइते भएका थिए । यो वडा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह वडा हो । कांग्रेस कार्यकर्ताले जोशीलाई कुटपिट गर्नुका साथै उनी चढेको बा१५च ६०२८ नम्बरको स्कारपियो तोडफोड गरेका छन् ।

नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले व्यास नगरपालिकामा नेकपा एमालेसँग तालमेल गर्दै स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको थियो । घाइते जोशी गोविन्दराज पुत्र हुन् ।

मतदानस्थलमा एजेन्ट किन छैन भनेर मतदान अधिकृतसँग सोध्दा आफूमाथि एकैचोटी हमला भएको जोशीले बताए । मतपत्र च्यातेपछि हातपात भएको कांग्रेसका कार्यकर्ताहरूले बताएका छन् ।

Related News