२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के भन्छन्, कर्णालीका प्रत्यक्ष महिला उम्मेदवार गोमा र कुन्ती ?

२०७९, २४ कार्तिक बिहीबार ११:०६

कात्तिक २४, काठमाडौँ | पौराणिक पात्रमा आधारित नाम गोमा र कुन्ती आफैँमा सुसंस्कृत र परिचित नाम हुन् । हरेक परिवारले आफ्नो नवआगन्तुक सन्तानलाई समाजले यस्तै पौराणिक नामले चिनोस्, कामले चिनोस् भन्ने अपेक्षा राखेर नामाङ्कन गर्ने गरिन्छ । सम्भवतः त्यो संयोग गोमा र कुन्तीको परिवारमा जुरेको हुन सक्छ ।

अहिले ती दुवै पात्रले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि  उम्मेदवारी दिएका छन् । चुनावको दिन मङ्सिर ४ गते आउन अब १० दिनमात्र बाँकी छ । गोमा गौतम (कुँवर) प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) जुम्लाको महिला प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्छ भने कुन्तीकुमारी शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दैलेख क्षेत्र नं १ को प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्छ ।


कर्णालीमा प्रतिनिधिसभातर्फ १२ निर्वाचन क्षेत्र छन् । त्यसमा विभिन्न पार्टी र स्वतन्त्र गरेर ७६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । विगतदेखिको विरासत बोकेका पार्टीमध्ये कर्णालीमा माओवादी र राप्रपाले बढी न्याय गरेको छ । नेपाली कांगे्रस र नेकपा (एमाले)का महिला नेत्रीहरुले भने टिकट पाउन सकेका छैनन् ।  

संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता राज्यका सबै निकाय हुनुपर्ने व्यवस्था भएपनि ठूला पार्टीबाट कर्णालीमा गौतम र शाही मात्र प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारमा मुस्किलले अटाउन सके । वर्गका हिसाबले महिला भए पनि दुवैको राजनीतिक र धार्मिक आस्था एकआपसमा ठीक विपरीत छ । उहाँहरु दुवै राजीतिकरुपले पनि प्रतिस्पर्धी मानिन्छन् । 

गोमा कम्युनिष्ट विचारधारमा विश्वास गर्नुहुन्छ भने कुन्तीे हिन्दूवादी सनातन धर्ममा । मालेवादलाई अँगाल्नुभएका गौतम र राजसंस्थालाई आस्थाको धरोहर ठान्दै आउनुभएका शाही फरक पार्टीका पुरुष उम्मेदवारसँग भिडन्त गर्दै हुनुहुन्छ । जहाँ दुवैका लागि चुनावमा बिजयी हुनु त्यति सजिलो छैन । सिङ्गो कर्णालीका निम्ति महिला नेतृत्वमा आउने कुरामा अन्याय गरे पनि आफूहरुको सवालमा न्याय दिलाइएको दुबैको भनाइ छ ।  

जुम्लाका गौतम प्रतिनिधिसभा सदस्यका उम्मेदवारद्वय एमालेका रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही र नेमकिपाका डिल्लीप्रसाद काफ्लेसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । श्रमजीवि र महिला वर्गको मुक्ति आन्दोलन गर्दै हाल माओवादीका केन्द्रीय सदस्य रहनुभएकी गोमा जुम्लाका माओवादी र अहिलेको गठबन्धनको साझा उम्मेदवारका हिसाबले बलियो नै देखिनुहुन्छ ।

स्थानीय तहको निर्वाचन, २०७९ को मतपरिणामलाई नियाल्दा जुम्लामा कांग्रेसको १६ हजार ७५ मतसङ्ख्या छ भने नेकपा (माओवादी केन्द्र)को १४ हजार एक सय ७५ छ ।  एमालेको छ हजार नौ सय ६२, नेकपा (एकीकृत समाजवादी)को छ हजार एक सय ९५ र राप्रपाको पाँच सय १४ मत छ ।

पछिल्लो समयमा समाजवादी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । गठबन्धन दलभित्रका दुई दल कांगे्रस र माओवादीको मत जोड्दा मात्र ३० हजार छ । साठी प्रतिशत मत गठबन्धनका पक्षमा आउने भएकाले जीत सुनिश्चित भएको उम्मेदवार कुँवर बताउनुहुन्छ ।    

ठूला दलबाट एक्लो महिला उम्मेदवार बन्नुभएकी  उहाँ यतिबेला मतदाता भेटघाटमा व्यस्त नै हुनुहुन्छ । चिसोसँगै गाउँमा आफूहरुले मत माग्दा विपद् पीडित जुम्लाबासीले बाढीले बगर बनेका जमिन पुनःनिर्माण र सीप तथा आयआर्जनमूलक कार्यक्रम हाल्न माग गरेको उम्मेदवार कुँबर बताउनुहुन्छ  । 

जुम्ला माओवादी एक्लैले जित्ने आधार क्षेत्र भएकामा गठबन्धनले झनै आफ्नो जित सुनिश्चित गराएको उहाँको भनाइ छ । कुँबर  भन्नुहुन्छ, “हामीले गरेको विद्रोह र आन्दोलनको उपलब्धि हो आजको व्यवस्था र महिला उम्मेदवार हुने अवसर पनि हो । अहिले महिलासहित दलित, आदिवासी÷जनजाति, पिछडिएको, अल्पसङ्ख्यक, सिमान्तकृत सबैले राज्यको सबै निकायमा अधिकारका रुपमा अनिवार्य सहभागिता जनाउँदै आएका छन् । यो व्यवस्था ल्याउनुमा माओवादीको पहिलो भूमिका छ ।”

व्यवस्था परिवर्तनमा सशक्त भूमिका निर्वाह गर्ने माओवादी, मुलुकलाई शान्ति प्रक्रिया लैजान योगदान पु¥याउने कांगे्रस र व्यवस्था बदल्न तथा शान्ति प्रक्रिया लैजान मध्यस्थकर्ता एवं सहजकर्ताको महत्वपूर्ण ऐतिहासिक अभिभारा पूरा गर्ने नेकपा (एकीकृत समाजवादी)लगायतको गठबन्धन दलका सबै उम्मेदवारका पक्षमा मतदान हुने र त्यसमा गठबन्धनले विजय हासिल गर्नेमा पूर्ण विश्वस्त रहेको उहाँको जिकिर छ  ।    

त्यस्तै दैलेखमा राप्रपाबाट प्रत्यक्ष उम्मेदवार बन्नुभएकी शाही गठबन्धन दलसहित एमालेका पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । राप्रपाको महामन्त्रीसमेत रहनुभएकी उहाँलाई चुनाव जित्नु फलामको च्यूरा चपाउनु जस्तै छ । उहाँले गठबन्धन दलका साझा उम्मेदवार अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मासँग  प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

स्थानीय तहको चुनावको मतपरिणामलाई हेर्दा  कांग्रेसको २० हजार तीन सय ४४, एमालेको १९ हजार ६१, नेकपा (एकीकृत समाजवादी)को पाँच हजार पाँच सय २९, माओवादीको तीन हजार एक सय ७५ र राप्रपाको ९७६ मतसङ्ख्या रहेको छ । 

उक्त मतपरिणामलाई हेर्दा शाहीको चुनावी प्रतिस्पर्धा सहज नभए पनि पछिल्लो समयमा आफ्नो दल  र आफूले उठान गरेको जनताका प्रत्यक्ष जीवनसँग जोडिएका मुद्दा तथा पूर्वाधार विकास योजनाको २१ बुँदे प्रतिबद्धतापत्रले जीत सुनिश्चित रहेको उहाँको जिकिर छ  । शाही भन्नुहुन्छ, “गठबन्धन दल र एमालेले स्थानीय तहको मतपरिणामलाई आधार बनाएका छन् । उनीहरुका ती पुराना सपना सबै ध्वस्त हुनेछन् ।”

सबै गर्छौं भनेर स्नातक पढेका युवालाई समेत भारत जान बाध्य बनाउने ठूला दलप्रति जनताको नैराश्यता र आक्रोश दुवै भएको उहाँको भनाइ छ । दैलेखलाई आत्मनिर्भर बनाउने, दलित, महिला र विपन्न वर्गलाई उत्पादन र सीपसँग जोड्ने र सुर्खेत–दैलेख–महावु–कालीकोट हुँदै जुम्ला जोड्ने सडक निर्माण गर्ने प्रतिबद्धता नै आफ्नो जीत सुनिश्चितको प्रमुख आधार भएको उम्मेदवार शाहीको तर्क छ ।   

राजनीतिक विश्लेषक पीताम्बर ढकाल पछिल्लो समयमा जनतामा बढ्दै गएको राजनीतिक चेतना र पार्टीको विगतको विरासतले उम्मेदवारको जीत हारमा प्रमुख भूमिका निर्वा गर्ने उल्लेख गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “जुम्लामा गोमा गौतम (कुँवर) गठबन्धनको साझा उम्मेदवार र मतदातामा बढेको राजनीतिक चेतनाले दैलेखमा कुन्ती शाहीको जिकिरलाई अस्वाभाविक ठानिदैन । यद्यपि राप्रपाको साङ्गठानिक मत धैरै देखिँदैन ।”अहिले दुवै नेतृले ढुक्कका साथ आआफ्नो जीत सुनिश्चित हुने  जिकिर गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट