2026-07-25 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय दलमा किन गगनले अपेक्षा गरेको भन्दा थोरै मत पाए?

पुस ६, काठमाडौँ | ‘आजको मत परिणाम अपेक्षाकृत होइन। यो भन्दा धेरै राम्रो हुन्छ भन्ने अपेक्षा गरेको थिएँ,’ कांग्रेस संसदीय दलको नेताका प्रत्यासी गगन थापाले मतपरिणामपछि भने।

पार्टी महामन्त्री समेत रहेका थापाले आफ्नो समूहका ३२ सहित केही भोट तानेर देउवालाई नजिकबाट चुनौती दिने सम्भावना देखेका थिए। तर,  परिणाममा उनले एक तिहाइ समेत हासिल गर्न सकेनन्। झन्डै ७२ प्रतिशत मत ल्याएर कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता छानिए।

कांग्रेसको १४औं महाधिवेशन देउवा गुटबाट समेत मत क्रस गराएर लोकप्रिय मत ल्याएका थिए थापाले। संसदीय दलमा देउवाले थापा पक्षको मत क्रस गराइदिएका छन्।

मत परिणामलाई लिएर देउवाइतर समूहले समीक्षा गर्ने जनाएको छ। आफ्नो समूहबाटै भएको ‘धोका’बाट पाठ सिक्नेगरी मिहिन रुपमा केलाउने उक्त पक्षका एक नेताले बताए। उनले भने,  ‘यो नतिजाबाट सबै नेताहरू सन्तुष्ट हुनुहुन्न। कहाँ गडबडी भयो? त्यो पत्ता लगाएर अघि बढ्ने कुरा भएको छ।’

चुनावको नतिजापछि पनि उक्त समूहका नेता शेखर कोइराला, संसदीय दलको नेताका उम्मेदवार गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू अर्जुन नरसिंह केसी, चन्द्र भण्डारीलगायतले छलफल गरेका छन्। सबैले उक्त परिणामलाई अप्रत्यासित रुपमा लिएका उक्त पक्षका ती नेताले बताए।

संस्थापनइतरका नेताहरूले केही विषय भने पहिल्याएका छन्। त्योमध्ये पहिलो भोट हाले/नहालेको खिचेर ल्याउनुपर्ने दबाबलाई ठानेका छन्। प्रधानमन्त्री समेत रहेका देउवाले आफूलाई भोट हाल्ने वाचा गरेका तर, थापासँग पनि निकट नै रहेका केही नेताहरूलाई ‘वाच’ गरेका थिए। चुनावका समयमा उनीहरूमाथि निगरानी गरिएको थियो।

शंकास्पद नेता भोट हाल्न जाँदा साथसाथै देउवा पक्षका नेताहरू पनि जाने गरेका थिए। भोट क्रस गर्न सक्ने १३ जना जति सांसदहरूलाई त तस्बिर खिच्न नै दबाब दिइएको महामन्त्री थापाले नै देखेका छन्। उक्त समय महामन्त्री थापासँगै रहेका एक सांसदका अनुसार ती सांसद्हरू भोट हाल्न जाँदा अघि-अघि देउवापत्नी आरजु राणा र पछि-पछि गृहमन्त्री वालकृष्ण खाणपत्नी मञ्जु खाण गएकी थिइन्।

भोट हाल्न गएकाहरूलाई तस्बिरका लागि बाहिरैबाट संकेत गरिएको थियो र उनीहरूले तस्बिर खिचेका थिए। महामन्त्री थापाले त्यहीँ विरोध जनाएको बताएका छन्। उनले मतदानस्थलमै पत्रकारहरूसँग भने,  ‘बिहानै क्यामेरा लिन पाउनुपर्ने उहाँहरूको माग थियो। हामीले त्यसलाई रोक्न खोज्यौं तर सांसदकै मोबाइल खोस्ने कुरा राम्रो नदेखिएला भनेर देखिने ठाउँबाट भोट हाल्ने तर तस्बिर नखिच्ने निर्णय गर्‍यौं।’

सभापति देउवाले फोटो देखाउन बाध्य पार्दा आफ्नोतिर गणना गरेका केही सांसदहरूले देउवा पक्षमै भोट हालेको उक्त पक्षको भनाइ छ।

अर्को, सत्ताको नेतृत्व गरिरहेका शक्तिशाली सभापति देउवा पक्षले आफ्ना निकट धेरैलाई टिकट दिएको थियो भने समानुपातिकमा समेत पारेको थियो। त्यसले बहुमत सांसद देउवाकै पक्षमा रहेको हिसाब-किताब छर्लंग थियो। देउवाको जित सुनिश्चित देखिएका कारण उनी विपक्षमा उभिएर सम्भावित अवसर गुमाउने आँट सांसदहरूले गरेनन्। 

‘सबै साथीहरू लड्ने आँट गर्नुहुन्न। दुवैतिर समदूरी राख्न चाहनुहुन्छ। उहाँहरू निगरानी गरिएको कुराबाट डराउनुभयो। भविष्यमा पाउन सकिने अवसर गुम्ने डरले उतै भोट हाल्न तयार हुनुभयो’, संस्थापनइतरका एक नेता भन्छन्। 

अर्को मुख्य कारणचाहिँ अन्तिम समयसम्म साझा उम्मेदवार तय गर्न नसक्नु रहेको उक्त पक्षका नेताहरू स्वीकार्छन्। सुरुबाटै एक जनालाई तयार गर्दा माहोल बन्न सक्ने भए पनि संस्थापनइतर अलमलियो। पहिल्यै घोषणा गरेका थापाका साथै डा शेखर कोइराला आकांक्षी देखिए। गएको महाधिवेशनमा टिम बनाएर लडेका उनीहरू दुवै जना मैदानमा उत्रिने सम्भावना मंगलबारसम्मै कायम रह्यो।

डा कोइरालापक्षका केही नेताहरूले थापालाई नस्वीकारेका कारण डा कोइराला अडिएका थिए। विशेषगरी शेखर-गगन पक्षमा रहेका दोस्रो तहका नेताहरूमा थापा-शर्माको जोडीबाट डर थियो। उनीहरू अघि बढ्दा आफूहरूको पार्टी करियर चाँडो सकिने संशय थियो। केही नेताहरूले त्यस्तो अभिव्यक्ति समेत दिँदै आएका थिए। ती सांसदहरूले थापालाई भोट नदिएको अनुमान पनि हुन थालेको छ।

अर्को, अन्तिम दिनसम्म उम्मेदवार थापा सहमति निर्माण गर्नमै सक्रिय रहे। यसले आफ्नै समूहका सांसदसँग पनि पर्याप्त छलफल गर्ने अवसर पाएनन्। आफ्नो गुटभन्दा बाहिरका सांसदहरूसँग त झन् सम्पर्क गर्ने समेत घर्किसकेको थियो। यसले गर्दा माहोल नै निर्माण नहुनु पनि थापा पक्षले हारको एउटा कारणका रुपमा लिएको छ।

उम्मेदवार हुनेमा पहिलेदेखि नै निश्चित रहेका देउवाले सांसदहरूलाई थापाले भेट्नुअघि नै भेटिसकेका थिए। आफ्नो पक्षमा मत पार्नका लागि सबै अभ्यासहरू गरिसकेका थिए। मंगलबार दिनभर बैठकमै सक्रिय भएका थापाले राति सांसदहरूसँग कुरा गर्ने कोसिस गरे। 

तर, गृहमन्त्री समेत रहेका बालकृष्ण खाणले सफल हुन दिएनन्। थापाले जाने ठाउँको निगरानी गर्न उनले सादा पोशाकका प्रहरी खटाइदिए। धेरै सांसदहरू भेटेपछि राति मात्रै आफ्ना पछाडि त्यसरी मान्छे खटाइएको उनीहरू थाहा पाए। केहीलाई भेटेर सोधपुछ गरे। मंगलबार रातिको भेटघाट प्रत्युत्पादक भएको उक्त पक्षको बुझाइ छ। किनभने भेटेका सांसदहरूबारे निगरानीका लागि खटाइएका प्रहरीले खाणलाई ब्रिफिङ गरे। देउवा पक्षले उनीहरूमाथि निगरानी बढायो। जसले गर्दा सांसदहरू सकसमा परे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक