२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिनामै गठबन्धनभित्र खटपट सुरु, प्रचण्डसँग एमाले सशंकित

२०७९, १६ माघ सोमबार १०:५६

माघ १६, काठमाडौँ | सत्ता सहकार्य थालेको एक महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खटपट सुरु भएको छ । पुष १० को सहमतिअनुसार नेकपा एमालेलाई राष्ट्रपति दिन प्रचण्डको आनाकानीसँगै गठबन्धनमा समेत दरार आउनसक्ने संकेत देखिएको हो ।

माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसबाट एमाले कित्तामा पुगेपछि प्रधानमन्त्री र सभामुखमा आलोपालो नेतृत्व गर्ने तथा राष्ट्रपति एमालेले लिने सहमति भएको दुई दलबीच भएको थियो । त्यस बमोजिम माओवादीले प्रधानमन्त्री र एमालेले सभामुख पाइसकेका छन् । तर, राष्ट्रपतिको विषयमा भने प्रचण्डको भाका फेरिन थालेपछि एमाले झस्किएको छ ।


प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने निर्णय माओवादीले लिएको छ, जुन एमालेलाई स्वीकार्य छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवार उठाउने घोषणा गरिसकेका छन् । केही दिनअघि उनले पत्रकारसँग भनेका थिए, ‘एमालेले आफ्नो उम्मेदवार उठाउँछ, राष्ट्रिय सहमति त्यही हो ।’

औपचारिक रुपमै निर्णय गरेर माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि एमाले नेताहरु झस्किएका छन् । प्रचण्डले सहमतिबाट पछि हटेर धोका दिन खोजेको उनीहरुको बुझाइ छ । यद्यपि, पार्टीले कुनै औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।

यता, माओवादीभित्र भने राष्ट्रपति एमालेलाई कुनै हालतमा छोड्नु नहुने मत बलियो छ । सहमतिको पालना गर्दा साढे दुई बर्षपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै एमालेको हुने र आफूहरु अप्ठेरोमा पर्न सक्ने माओवादी नेताहरुको बुझाइ छ । प्रचण्ड पनि एमालेलाई राष्ट्रपति दिन चाहँदैनन् । गठवन्धनलाई दाउमा राखेर भए पनि आफू अनुकुल राष्ट्रपति बनाउने रणनीति उनको छ ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सहमतिबाट पछि हट्दै माओवादीले राष्ट्रिय सहमतिको कुरालाई उचाल्न नहुने बताउँछिन् ।

उनले नेपाल प्रेससँग भनिन्, ‘अहिले माओवादीबाट सहमति विपरितका तर्कहरु बाहिर आएपछि आशंका पैदा हुनु स्वभाविक हो । तर, अहिले हामी त्यसमा अल्झिनु हुँदैन ।’

उनले प्रचण्डलाई एमालेले प्रधानमन्त्री स्वीकार गर्नु नै ठुलो कुरा भएको बताइन् । ‘अहिले त प्रतिनिधिसभाको तेस्रो दलको अध्यक्ष प्रचण्डलाई विश्वास गरेर नै प्रधानमन्त्री बनाउनु धेरै ठुलो कुरा हो । त्यसैले प्रचण्डजीले पनि अत्यन्तै सहजताका साथ लिनुपर्छ र पहिलाकै सहमतिअनुसार चल्नुपर्छ । एमालेले यतिसम्म स्वीकारेर अघि बढेपछि मिलेर जाऔं भन्नेमा प्रचण्डजी लाग्नुपर्छ ।’

अझै पनि सत्ता खेलमा एमालेलाई विस्थापित गरेर जान्छु भनेर प्रचण्डले सोच्नु नहुने उनले बताइन् । उनले थपिन्, ‘एमालेले संस्थागत निर्णय गरेर जोसुकै व्यक्तिलाई अघि सारेपनि सत्ता साझेदार दलहरुले स्वीकार्नुपर्छ । प्रधानमन्त्री र सभामुखमा सहमति अनुसार भइसक्यो । अब राष्ट्रपतिमा आएर राष्ट्रिय सहमति गर्नुपर्छ भनेर अनेकौ कुरा गर्नु ठीक हुँदैन ।’

एमाले महासचिव शंकर पोखरेल भने राष्ट्रपतिको चुनावको विषयलाई लिएर प्रधानमन्त्रीको व्यवहार नकारात्मक नभएको तर्क गर्छन् ।

उनले विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ छैन । राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन, प्रधानमन्त्रीले पनि सत्ता गठबन्धनभित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहनुभएको छ ।’

संघदेखि प्रदेशसम्म नै गठबन्धनको सरकार भएकाले सत्ता गठबन्धनको उम्मेदवार नै राष्ट्रपति हुने उनको जिकिर छ । बरु कांग्रेसले सत्ताबाहिर रहँदा अस्थिरता ल्याउन खोजेको आरोप उनले लगाए ।

त्यसो त सत्ता गठबन्धनको बिषयलाई लिएर अहिले माओवादीभित्र दुई धार देखिएका छन् । पार्टी उपाध्यक्षद्रय कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा, उपमहासचिव जनार्दन शर्मा र शक्ति बस्नेत एमालेलाई राष्ट्रपति दिन नहुने अडानमा छन् । आवश्यक पर्दा कांग्रेस नेतृत्वको गठबन्धन ब्यूउँताउनुपर्ने सम्मको रणनीतिका साथ उनीहरु कांग्रेससँग संवादमा छन् ।

गृहमन्त्रीमा पनि हानाथाप

नागरिकता मुद्दा हारेर रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रालयको बिषयमा पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच मतभेद देखिएको छ । खारेज भइसकेको नागरिकता प्रयोग गरेको मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद, उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले गुमाएका थिए ।

तर, अहिले नागरिकता लिइसकेपछि उनलाई पुरानै जिम्मेवारीमा फर्काउनेबारेमा प्रचण्ड र ओलीबीच सहमति बन्न नसकेको हो । यो बिषयमा आइतबार साँझ पनि दुई नेताबीच छलफल भएको थियो ।

गैरसांसदलाई पनि संविधानअनुसार ६ महिना मन्त्री बनाउन मिल्ने प्रावधान अनुसार ओलीले लामिछानेलाई पुरानै जिम्मेवारी दिन प्रचण्डमाथि दबाब बढाइरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने अहिले रिक्त रहेको गृहमन्त्रालय आफैं राख्ने पक्षमा छन् ।

अहिलेको सरकारमा महत्वपूर्ण मन्त्रालय माओवादीले पाउन सकेको छैन । गृहजस्तो मन्त्रालय प्रधानमन्त्रीकै पार्टीसँग रहनुपर्ने तर्क माओवादी नेताले गर्न थालेका छन् ।

माओवादीका एक पदाधिकारी भन्छन्, ‘रास्वपाले दाबी गरेझैं अब फेरि उसैले पाउँछ भन्ने छैन । सरकारको नेतृत्व भएको दलले नै गृह मन्त्रालय राख्ने विगतको प्रचलन पनि हो ।’तर, राष्ट्रिय स्वतन्त्र पार्टीले पावर शेयरिङमा आफ्नो भागमा परेको गृह मन्त्रालय नछाड्ने बताइसकेको छ । रास्वपा र ओलीको दबाबले गृहमन्त्रालयको बिषयमा पनि प्रचण्ड अफ्ठ्यारोमा परेका छन् ।

एमाले महासचिव पोखरेल भने लामिछानेलाई गृहमन्त्री बनाउन प्रचण्डलाई दबाब नदिइएको बताउँछन् । ‘अहिले कुनै पनि खालको दबाब दिइएको छैन । गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल भएर मात्रै टुङ्गिन्छ,’ उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने