चाडपर्व नजिकिएसँगै किलोमा ३० रुपैयाँले बढ्यो कुखुराको मासुको मूल्य

Posted on: 17 Sep, 2023

भदौ ३१, काठमाडौँ | ठूला चाडपर्व नजिकिएसँगै कुखुराको मासुको मूल्य बढाउन थालिएको छ । जिउँदो कुखुरा बिक्री गर्ने व्यवसायीहरुको संस्था राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले एक साता अवधिमै जिउँदो कुखुराको मूल्य किलोमा २० रुपैयाँले वृद्धि गरेपछि बजारमा त्यसको असर देखिएको छ ।

जिउँदो कुखुराको मासुको मूल्य बढेसँगै ब्रोइलर कुखुराको तयारी मासुको बिक्री गर्ने खुद्रा बिक्रेताहरु मासुको मूल्य किलोमा ३० रुपैयाँले बढाएका छन् । २५ भदौमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ बनाएको थियो । संघले किलोमा १० रुपैयाँले मूल्य बढाएकै दिन खुद्रा बिक्रेताले प्रतिकिलो १५ रुपैयाँले तयारी मासुको मूल्य बढाएर ३७५ रुपैयाँ पुर्‍याएका थिए । यसअघि तयारी मासुको प्रतिकेजी मूल्य ३६० रूपैयाँ थियो ।

यस्तै २७ भदौमा बिक्री संघले थप १० रुपैयाँले वृद्धि गरेर तयारी कुखुराको कोल्ड स्टोर मूल्य ३६० रुपैयाँबाट बढाएर ३७० रुपैयाँ पुर्‍याएको थियो । सातामै दोस्रो पटक मूल्यवृद्धि पछि बजारमा तयारी कुखुराको मासुको प्रतिकिलो मूल्य ३९० रुपैयाँ पुगेको छ । तर, चक्रपथ बाहिर ४१५ रुपैयाँसम्ममा तयारी मासु बिक्री भइरहेको गुनासोहरु आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!