विदेशी मुद्रा सहित एक जना पक्राउ

Posted on: 18 Sep, 2023

असोज १, मकवानपुर | विदेशी मुद्रासहित हेटौंडाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटेबाट २३ लाख रुपैयाँ भन्दा बढी विदेशी मुद्रा सहित एक जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

२३ लाख ३८ हजार ५७१ रुपैयाँ बराबरको विदेशी मुद्रासहित हेटौडा–१५ रातोमाटे चेक प्वाइन्टबाट भारत विहार पूर्वी चम्पारन पलङवा थाना पसौना–९ बस्ने वर्ष ४० का रम्भु दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।


उनका अनुसार भदौ ३१ गते आइतबार साँझ ६ः४५ बजेको समयमा रातोमाटे चेक प्वाइन्ट स्थित पूर्व–पश्चिम सडक खण्डमा विशेष सूचनाको आधारमा दासलाई विदेशी मुद्रासहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ३६४ नम्बरको ईलोक्ट्रोनिक माईक्रो गाडी चेकजाँच गर्ने क्रममा माइक्रोमा सवार यात्रा गरिरहेका दासको साथबाट सो विदेशी मुद्रा फेला पारिएको प्रवक्ता भण्डारीले बताए ।

लुकाई छिपाई गरी राखेको अवस्थामा दासको साथबाट ५० का युरोपियन डलर ८० थान (नेपाली ४,००० रुपैयाँ), १ हजारका जापानी यन १३३ थान (नेपाली १३ लाख ३० हजार ००० रुपैयाँ), १ हजारका साउदी रियल २ थान, ५०० का १५ थान, २०० का ५ थान, १०० का ५२ थान, ५० का ७ था, २० का ५ थान, १० का १३ थान, ५ का ७ थान गरी जम्मा साउदी रियल ११६ थान ‌ बरामद गरिएको उनले बताए । साउदी रियल मुद्राको नेपाली मूल्य १६ हजार ३१५ रुपैयाँ रहेको उनको भनाई छ ।

बरामद भएको विदेशी मुद्रा र निज दासलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!