इनरुवाकी निकिताको शङ्कास्पद मृत्यु, दाइजोको निहुँमा श्रीमानले हत्या गरेको माइती पक्षको दाबी

Posted on: 19 Sep, 2023

सोज २, विराटनगर | दाइजो नल्याएको भन्दै इनरुवा नगरपालिकाका ३ नगेन्द्र भगतले श्रीमतीको हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।

विराटनगर माइती भएकी की २३ वर्षीय निकिता चौधरीको श्रीमानले हत्या गरेको भन्दै माइती पक्ष आन्दोलित भएको हो ।

माइती पक्षले दाइजोको निहुँमा पटक पटक चौधरी माथि कुटपिट हुने गरेको भन्दै दोषीलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि प्रदर्शन गर्दै आएका छन् ।

शनिवार राती चौधरीको मृत्यु भएको थियो । बाथरुममा झुन्डिएको भन्दै निकितालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा लगिएको थियो ।


अस्पतालले उपचार हुन नसक्ने भन्दै रेफर गरेपछि थप उपचारका लागि विराट टिचिङ हस्पिटल ल्याउने क्रममा चौधरीको निधन भएको थियो । चौधरीको मृत्युको विषयमा भगत परिवारले फरक फरक कुरा बताउँदै आएको भाइ राकेश चौधरीले बताए ।

उनका अनुसार भगत परिवारले कहिले बाथरुममा चिप्लिएको, कहिले आत्महत्या गरेको बताउने गरिएको छ ।

भाइ राकेशले भने दाइजोको निहुँमा उनकै श्रीमानले हत्या गरेको आरोप लगाएका छन् । ३२ वर्षीय नागेन्द्र भगतमाथि श्रीमती निकिताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लगाए ।

शनिवार राती करिब साढे ९ बजेतिर निकिताले श्रीमान् र परिवारसँग झगडा भइरहेको माइतीमा आमालाई फोन गरेर जानकारी गराएकी थिइन् ।

त्यसको आधा घण्टापछि निकिताले झुन्डिएर आत्महत्या गरेको नगेन्द्रकी भान्जीले निकीताका भाइलाई खबर गरेकी थिइन् । त्यसपछि निकिताकी जेठानीले बाथरुममा चिप्लिएर सख्त घाइते भएको भन्दै जिल्ला अस्पतालमा आउन आग्रह गरेको माइती पक्षले दाबी गरेको छ ।

दाइजोको विषयमा झगडा परिरहेको बताएको केही क्षणमा निकिताको मृत्युको कारण विरोधाभासपूर्ण तरीकारले जानकारी गराइएको माइती पक्षले दाबी गर्दै आएका छन् ।

निकीताका भाइ राकेश चौधरीले नागेन्द्रले दिदी निकितामाथि धारिलो हतियार प्रहार गर्नुका साथै घाँटी थिचेर हत्या गरेको आरोप लगाए । निकिताले तिजमा लगाउन चार हजार रुपैयाँको सारी किनिदिन नागेन्द्रसँग आग्रह गरेको गरेपछि विवाद भएको माइती पक्षले दाबी गरेको छ ।


शनिवार साँझ आमासँग श्रीमान् नागेन्द्रलाई सारी किनिदिन आग्रह गरेको र नागेन्द्रले सारी किनिदिनु परे नाम मेटाइदिने भन्दै धम्की दिएको कुरा सुनाएकी थिइन् । नागेन्द्रले आफ्नी छोरीलाई माइतीबाट थप दाइजो ल्याउन दबाब दिँदै कुटपिट गरी हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।

नगेन्द्रका दाजु गोपी भगतले भने परिवारमा कुनै झै झगडा नभएको दाबी गरेका छन् । उनले घटना भएको दिन पनि दुवै परिवार जोगवनी गएर तिजको सपिङ गरेको बताए । उनले नगेन्द्रले निकितालाई तीजको सारी किनिदिएको तर सारी किनिदिएपछि तिम्रो वुावले किन सारी नकिनिदिएको भन्दै जिस्काएको दाबी गरे । यही विषयमा दुवैबी झगडा भएको भगतले बताए ।

माइती पक्षले निकिताको दाइजोको निहुँमा हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा नागेन्द्र विरुद्ध जाहेरी दिएका छन् ।

सोही जाहेरीका आधारमा नागेन्द्रलाई आइतबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

‘घटनापछि मृतकको माइती पक्षले जाहेरी दिनुभएको छ’ उनले भने, ‘जाहेरीका आधारमा हामीले श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेका छौँ।’

निकिताको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ । शवको पोस्टमार्टम रिर्पोटपछि अनुसन्धान थप अघि बढ्ने रेग्मीले बताए ।

नगेन्द्रको यो दोस्रो विवाह हो । पहिलेकी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर निकितासँग दोस्रो विवाह गरेका थिए ।

निकितासँग दोस्रो विवाह गरेका नागेन्द्रलाई दाइजो स्वरूप माइती पक्षले ३५ लाख नगद, १० तोला सुन र ८० तोला चाँदी दिएका थिए ।

निकिता र नागेन्द्र बिच २१ महिनाअघि मागी विवाह भएको थियो । उनीहरूको ११ महिनाको छोरा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!