इतर समूहको बैठकमा विश्वप्रकाश र प्रदीप सहभागी नहुने

Posted on: 19 Sep, 2023

असोज २, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शेखर कोइरालाले बोलाएको गुटको बैठकमा सहभागी नहुने भएका छन् । कोइराला आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । 

कोइरालाको सचिवालयले महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पहिलो पटक समूहको बैठकमा आमन्त्रण गरेको थियो । 

महामन्त्री गगन थापासँग जोडिएर काम गर्दै आए पनि इतरसमूहको बैठकमा  महामन्त्री शर्मा र नेता पौडेलको औपचारिक ‘इन्ट्री’ भएका छैन ।

१४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’ बाट शर्माले महामन्त्री जित्दा सभापति शेरबहादुर देउवाको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहमा रहेका पौडेल महामन्त्रीमा पराजित भएपछि लामो समय संस्थापन पक्षमा टिकेन । संसदीय दलको नेतामा सभापति देउवाविरुद्ध उभिएका महामन्त्री थापालाई शर्मा र पौडेल दुवैले साथ दिएका थिए । 

स्रोतका अनुसार आफू बैठकमा नआउने सन्देश शर्माले इतर समूहलाई दिइसकेका छन् । आज ट्विटरमा पनि उनले घुमाउरो संकेत गरेका छन् । तीनवटा ट्विट लेख्दै शर्माले आफ्नो धारणा प्रष्ट्याएका हुन् ।

उनले पार्टी महामन्त्रीको जिम्मेवारीप्रति आफू सजग रहेको उल्लेख गरेका छन् ।

नेता प्रदीप पौडेल पनि इतर पक्षको बैठकमा सहभागी नहुने बुझिएको छ । पौडेल आज मध्यान्ह १२ बजे चीन प्रस्थान गर्दै छन् । यद्यपि भदौ १७ गते नेता अर्जुननरसिंह केसीको निवासमा इतर पक्षका नेताहरूको छलफलमा भने महामन्त्री शर्मा र पौडेल सहभागी भएका थिए । 

उक्त छलफलमा महामन्त्रीद्वय थापा र शर्मा, सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू बलबहादुर केसी, प्रदीप पौडेल दिलेन्द्र बडु लगायत सहभागी हँदा नेता शेखर कोइरालालाई भने खबर गरिएको थिए । केसी निवासको छलफलले नेता कोइरालासँग परामर्श गरेर शर्मा र पौडेलसहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो । सोही अनुसार आजको बैठकमा शर्मा र पौडेललाई निम्तो गरिए पनि उनीहरू सहभागी नहुने देखिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!