रत्नपार्क–सूर्यविनायक सडकमा किन पोतियो रातो ?

Posted on: 20 Sep, 2023

असोज ३, काठमाडौँ | सडक विभागले काठमाडौं उपत्यकाको रत्नपार्क–सूर्यविनायक सडक खण्डमा ठाउँ–ठाउँमा रातो रङ पोतेर अलग्गै लेन मार्क गरेको छ । विभागले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्ने योजनाअनुरूप द्रुत बस सेवा सञ्चालनका लागि सो सडक खण्डमा ठाउँ–ठाउँमा रातो पोतेर अलग्गै लेन मार्क गरेको हो ।


त्यसरी रातो लेन मार्क गरिएको सो सडकमा बुधबारदेखि द्रूत बस सेवा सुरू गरिएको छ । शान्तिबाटिकामा आयोजित एक समारोहका बीच बधुबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका द्रूत बस सेवाको शुभारम्भ गरेका छन् । अब रत्नपार्क–सूर्यविनायक सडक खण्डमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म द्रूत बस सेवा सञ्चालन गरिनेछ ।

सो खण्डमा प्रत्येक ५ मिनेटको अन्तरमा बसहरू छुट्नेछन् भने ४० सिटभन्दा बढी क्षमताका बसहरूलाई यो सेवामा समावेश गरिएको छ । त्यसरी सञ्चालन भएका बसहरूले यो खण्डमा यात्रुलाई तोकिएका ठाउँमा ओराल्ने र चढाउनेबाहेक रोकेर राख्ने छैनन् भने सडकमा ती बसहरूलाई एम्बुलेन्ससरहको सुविधा दिइएको छ । यतिसम्म कि ती बसहरू सडक बत्तीमा समेत रोक्नुपर्नेछैन ।

काठमाडौंको रत्नपार्कदेखि सूर्यविनायकसम्मको दुरी १३ किमि छ । तर अहिले सो खण्डमा सार्वजनिक यातायातबाट यात्रा गर्न दुई घण्टासम्म लाग्छ । द्रूत बस सेवा सञ्चालन भएपछि भने यो सडक पार गर्न ४५ मिनेटमात्रै लाग्नेछ ।

मन्त्री ज्वालाले सार्वजनिक यातायातको साधन चढेर पनि समयमै गन्तव्यमा पुग्न सकिन्छ भन्ने धारणाको विकास गराउन र उपत्यकामा सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले यस्तो सेवा प्रारम्भ गरिएको बताए । ‘रत्नपार्कदेखि सूर्यविनायकको दुरी १३ किमिमात्रै हो । तर अहिले यहाँ दुई घण्टा समय लाग्दो रहेछ,’ उनले भने, ‘तर द्रूत बस सेवामा तत्काल यो समयलाई ४५ मिनेटमा झार्न सकिएला । सबै व्यवस्थित भएपछि यसलाई आधा घण्टामा ल्याउन सकिन्छ भन्ने लागेको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!