दाइजो अपुग भएको भनि श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

Posted on: 21 Sep, 2023

असोज ४, विराटनगर | सुनसरीको इनरूवा नगरपालिका-३ का ३२ वर्षीय नगेन्द्र भगत श्रीमती हत्याको आरोपमा पक्राउ परेका छन् ।

श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

विराटनगर महानगरपालिका-१७ मटेरूवाकी २३ वर्षीया निकिताको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि निकितासँग मागी विवाह गरेका थिए । माइती पक्षका अनुसार विवाहका बेला उनले ३५ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । त्यो पनि अपुग भएको भन्दै श्रीमतीलाई कुटपिट गर्ने गरेको माइती पक्षको आरोप छ ।


हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारबाही गर्न माग गरेको प्रहरीले जनाएको छ । ११ महिनाको नाबालक छोराको समेत जिउज्यानको सुरक्षा गरिदिन उनले प्रहरी समक्ष आग्रह गरेका छन् । दाइजोको निहुँमा हत्या भएको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि प्रदर्शन गर्दै आएका छन् ।

शनिबार राति निकिताको शंकास्पद मृत्यु भएको थियो । बाथरुममा झुन्डिएको भन्दै निकितालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा लगिएको थियो । अस्पतालले उपचार हुन नसक्ने भन्दै रेफर गरेपछि थप उपचारका लागि विराट टिचिङ हस्पिटल ल्याउने क्रममा उनको निधन भयो । मृत्युको विषयमा भगत परिवारले फरक-फरक कुरा बताउँदै आएको भाइ राकेश चौधरीको भनाइ छ ।

‘कहिले बाथरुममा चिप्लिएको र कहिले आत्महत्या गरेको बताइरहेका छन्,’ उनले भने ।

दाइजोको निहुँमा श्रीमान्‌ले नै हत्या गरेको उनको आरोप छ । निकिताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको रोकेशले दाबी गरे ।

शनिबार राति करिब साढे ९ बजेतिर निकिताले श्रीमान् र परिवारसँग झगडा भइरहेको भनेर माइतीमा आमालाई फोन गरेकी थिइन् । त्यसको आधा घण्टापछि निकिताले झुन्डिएर आत्महत्या गरेको नगेन्द्रकी भान्जीले निकिताका भाइलाई खबर गरेकी थिइन् । त्यसपछि निकिताकी जेठानीले बाथरुममा चिप्लिएर सख्त घाइते भएको भन्दै जिल्ला अस्पतालमा आउन आग्रह गरेको माइती पक्षले बताएको छ ।

निकिताले तिजमा लगाउन चार हजार रूपैयाँको सारी किनिदिन नागेन्द्रसँग आग्रह गरेपछि विवाद भएको माइती पक्षको भनाइ छ । निकिताले शनिबार साँझ आमासँग श्रीमान् नागेन्द्रलाई सारी किनिदिन आग्रह गरेको र श्रीमान्‌ले सारी किनिदिनु परे नाम मेटाइदिने भन्दै धम्की दिएको सुनाएकी थिइन् ।

नगेन्द्रका दाजु गोपी भगतले भने घटना भएको दिन पनि दुवै परिवार जोगवनी गएर तीजको सपिङ गरेको बताए । नगेन्द्रले निकितालाई तीजको सारी किनिदिएको तर सारी किनिदिएपछि तिम्रो बुवाले किन सारी नकिनिदिएको भन्दै जिस्काएको दाबी गरे । यही विषयमा दुवैबीच झगडा भएको भगतले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!