प्रहरी कर्मचारीमाथि हातपात गरेको आरोपमा ३ जना पक्राउ

Posted on: 21 Sep, 2023

असोज ४, संखुवासभा | प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा संखुवासभामा ३ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-७ बिहीबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छन्। 

पाँचखपन नगरपालिका-७ बिहीबार बजारमा उनीहरुले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। इलाका प्रहरी कार्यालय बानाबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा उनीहरुले प्रहरी कर्मचारी माथि नै हातपात तथा दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

उनीहरुले हातपात गर्दा १ जना प्रहरी कर्मचारी समेत घाइते भएका छन्। घाइतेको बाना स्वास्थ्य चौकीमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!