हुम्लामा कोदो महोत्सव हुने

Posted on: 21 Sep, 2023

असोज ४, हुम्ला | हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ । 

कोदो बालीको संरक्षण, प्रवद्र्धन र यसको प्रचारप्रसारका लागि महोत्सव गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख धर्मबहादुर शाहीले बताए । उत्पादन राम्रो हुने हुम्लामा कोदो महोत्सव गर्न लागिएको हो । 


जिल्ला बाहिरबाट अतिथि आउने भएका कारण यसको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । रैथाने कोदो बालीको प्रवद्र्धन गर्नसके यसलाई जिल्ला बाहिर निकासी गरेर किसानलाई प्रत्यक्षरूपमा फाइदा पुग्नेछ । महोत्सवमा व्यापारिक कक्ष निर्माण गरेर कोदोका परिकारसमेत प्रदर्शनी गरिनेछ । 

यस्तै कोदोबाट १५ भन्दाबढी परिकार तयार पारिनुका साथै महोत्सवको वृत्तचित्रसमेत तयार पारिनेछ । सो महोत्सवमा चार जना कोदोखेती गर्ने किसानलाई पुरस्कृत गरिनेछ । हुम्लाका सातवटै गाउँपालिकामा एक हजार तीन सय ५० हेक्टर जमिनमा कोदो खेती गर्दा एक हजार पाँच सय ४० मेट्रिकटन उत्पादन हुने गरेको जनाइएको छ । 

यस्तै कोदो महोत्सवका लागि यहाँका स्थानीय तहले आर्थिक सहयोगसमेत गर्ने भएका छन् । सिमकोट गाउँपालिकाले रु दुई लाख, नाम्खा गाउँपालिकाले रु एक लाख र खार्पुनाथ गाउँपालिकाले रु एक लाख ५० हजार सहयोग गर्ने सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए ।

यस्तै एकीकृत अनुसन्धान विकास केन्द्र, गुडनेभर इन्टरनेश्नल, सीप नेपाल, आधार विकास नेपाललगायतका संस्थालेसमेत कोदो महोत्सवमा आर्थिक सहयोग गर्ने निमित्त कार्यालय प्रमुख शाहीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!