मेसी घाइते भएर बाहिरिए पनि इन्टर मियामले सजिलै हरायो टोरन्टोलाई

Posted on: 21 Sep, 2023

असोज ४, काठमाडौँ | आफ्ना स्टार खेलाडी लियोनल मेसी घाइते भएर मैदानबाट बाहिरिए पनि इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) को बिहीबार खेलिएको खेलमा टोरन्टो फुटबल क्लबलाई ४—० गोलको फराकिलो अन्तरले हराएको छ । 

खेलको ३७औं मिनेटमा मेसी घाइते भएर मैदानबाट बाहिरिएका थिए । त्यतिबेला खेल गोलरहित बराबरीमा थियो । मेसीको स्थानमा रोबर्ट टेलर मैदानमा प्रवेश गरेका थिए । सात पटकका बालोन डी’ओर विजेता मेसी मैदानबाट बाहिरिएपछि इन्टर मियामीले चार गोल गरेको थियो ।  


यसअघि मेसीको अनुपस्थितिमा गत शनिबार इन्टर मियामी ठूलो अन्तरले पराजित भएको थियो । उक्त खेलमा एटलान्टा युनाइटेडले इन्टर मियामीलाई ५—२ गोलले हराएको थियो । टोरन्टोविरुद्घको खेलमा इन्टर मियामीका लागि रोबर्ट टेलरले दुई गोलको योगदान गरेका थिए ।

रोबर्ट टेलर मेसीकै स्थानमा मैदानभित्र प्रवेश गरेका थिए । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा इन्टर मियामीका लागि फाकुन्डो फारियसले पहिलो गोल गरेका थिए । खेलको ५४औं मिनेटमा रोबर्ट टेलरले इन्टर मियामीको अग्रता दोब्बर बनाएका थिए ।

त्यसपछि खेलको ७३औँ मिनेटमा इन्टर मियामीका लागि बेन्जामिन क्रेमास्चीले तेस्रो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि रोबर्ट टेलरले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै इन्टर मियामीलाई सजिलो जित दिलाएका थिए । 

इन्टर मियामीका प्रशिक्षक जेरार्डो मार्टिनोका अनुसार, अर्जेन्टिनी स्टार मेसीको पुरानै चोट बल्झिएको बताएका छन् । मेसीले अब आगामी साता हुने यूएस ओपन कपको फाइनल खेल्न सक्छन् वा सक्दैनन् अन्यौलमै छ । 

इन्टर मियामीले यूएस ओपन कपको फाइनलमा हस्टन डाइनामोको सामना गर्नेछ । प्रशिक्षक मार्टिनोले भने उक्त खेलअघि नै ३६ वर्षीय मेसी स्वस्थ्य भइसक्ने विश्वास ब्यक्त गरेका छन् । अघिल्लो साता खेलिएको बोलिभियाविरुद्घको खेलमा पनि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलोनीले मेसीलाई खेलाएका थिएनन् । 

इन्टर मियामीका अर्का प्रभावशाली खेलाडी जोर्डी अल्बा पनि टोरन्टोविरुद्घको खेलका क्रममा घाइते भएका थिए । त्यसैले यूएस ओपन कपको फाइनलअघि प्रशिक्षक मार्टिनो दबाबमा परेका छन् । मार्टिनोका अनुसार, ओरल्यान्डो सिटीविरुद्घको आगामी खेलमा भने मेसी र अल्बा दुबै अनुपस्थित रहने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!