‘कागबेनी’मा अनुप बरालको दबाबमा मलाई हटाएर दीया मास्केलाई कास्ट गरियो: उषा रजक

Posted on: 22 Sep, 2023

असोज ५, काठमाडौँ | अभिनेत्री उषा रजकले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको आरोप लगाएकी हुन् ।


बराल नेपाली सिने क्षेत्रका चर्चित अभिनेता, लेखक तथा निर्देशक हुन्। उनको आफ्नै ‘अ्याक्टर्स स्टुडियो’ नामक अभिनय सिकाउने स्टुडियो छ। उनले आफ्नो स्टुडियोबाट थुप्रै सफल कलाकारहरु उत्पादन गरिसकेका छन्। उनकै स्टुडियोबाट अभिनय सिकेकी रजकले बरालमाथि नेपोटिजम र फेबोरिजम गरेको आरोप लगाएकी छन्।

‘एक्टर स्टुडि‌‌ओ‌’की पहिलो ब्याचकी विद्यार्थी रजकले राम्रो भूमिका र पटकथा आउँदा बरालले सबै मुख्य पात्रमा मास्केलाई अनुबन्धित गराउने गरेको आरोप लगाएकी छन्। अहिले पनि त्यही अवस्था कायमै रहेको उनको भनाइ छ।

‘त्यो फिल्म (कागबेनी) मा निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे! (यो कुरा फिल्मको २ प्रमुख पात्रले भन्नु भएको मलाई) तर रातारात म आउट र दीया मास्के इन हुनुभयो। त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ,’ उनले भनेकी छन्, ‘त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखेँ।’

यद्यपि, उक्त आरोप निर्देशक दाहालले नस्वीकारेको र आफूसँग कुनै प्रमाण पनि नभएको उनले स्वीकारेकी छन्। उनले भनेकी छन्, ‘उहाँले अनुप सरको प्रेसरमा आएर कुरा मान्नु भयो। दाइको पहिलो फिल्म थियो, उहाँ नर्भस हुनुभयो होला, अनुप सरबाट फिल्म साकार पार्नुमा धेरै भर परेका थिए रे!’

अहिले पनि धेरै अडिसन एक्टर स्टुडियोबाट हुने गरेकोमा अहिले पनि त्यस्तै हुने गरेको आरोप उनको छ।

उनले भनेकी छन्-

एक्टर स्टुडियोको पहिलो ब्याचको विद्यार्थी म। १७ वर्षअघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दीया मास्केलाई मात्र अनुबन्धित गराउनु हुन्थ्यो, अहिले पनि त्यही कुरीति कायम नै छ। गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको परिभाषा यस्तो छैन।  

२००६ : एक्टर स्टुडियोको ट्रेनिङ बज्र होटेलमा हुन्थ्यो। त्यहाँ भुषण  दाहाल र टिम कास्टिङको लागि आएका थिए, पूजा गुरुङ, शिवानी सिंह थारु, दीया मास्के, म, आशा मङ्राती थियौं अडिसनमा। कुरा ‘कागबेनी’, नेपालको पहिलो डिजिटल फिल्मको। त्यो फिल्ममा निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे। (यो कुरा फिल्मको २ प्रमुख पाटोले भन्नु भएको मलाई) तर रातारात म आउट र दिया मास्के इन हुनुभयो। त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ। त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखेँ। 

यो कुराको न त मसँग प्रूफ छ, न त आज भुषण दाइले मान्नु हुनेछ कि वहाँले अनुप सरको प्रेसरमा आएर वहाँको कुरा मान्नु भयो। दाइको पहिलो फिल्म थियो, वहाँ नर्भस हुनुभयो होला, अनुप सरबाट फिल्म साकार पार्नुमा धेरै भर परेका थिए रे। 

किन अहिले मात्र बोलिएको त उषा? त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ। १९ वर्षकी शायद मैले बुझिनँ, अथवा बुझ पचाएँ, र खुरुक्क गएर चुपचाप क्लासमा बसेँ। १७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ, हो म अलिकति त काँतर नै हो।  

कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई रोल दिन पाइयो, तर एक शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनु भन्दा ‘नेपोटिजम’, ‘फेबोरिजम’ किन? मैले एक्टर स्टुडियोका धेरै विद्यार्थीले पछाडि-पछाडि यो कुरा भनेको सुनेको छु। तर बिरालोको घाँटीमा कसले घन्टी बान्ने?

अझै पनि धेरैजसो राम्रो फिल्मको अडिसन त्यहीँबाट हुन्छ, अझै पनि कलाकार आशा लिएर अडिसनमा जान्छन्, त्यो दूषित ठाउँमा। ठीकै  छ, म पनि गएकी थिएँ आश लिएर, आँखा नखोलुन्जेल।  

यति भन्दाभन्दै, मलाई कसैप्रति रिस छैन। अनुप सरबाट धेरै राम्रो कुरा पनि सिकेकी छु, दीया आफैमा सक्षम अभिनेत्री हुन्, र यो संसार यस्तै हो, अनि मै होला! कला आध्यत्म हो, यसलाई चोखो राख्नुपर्छ भन्ने बुद्धु।

यति भन्दाभन्दै, मैले कसैमाथि कुनै बेला जानी-नजानी अन्याय, धोका, अपमान गरेकी छु भने भन्नुहोला। सच्याउने मौका सबैले पाउनुपर्छ। सायद यो सबै भन्ने म गलत पनि होला।  

अनि के, कला क्षेत्र सबै यस्तै हो? प्रदुषित। नो, हैन। धेरै राम्रा गुरुहरु भेटें, निष्पक्ष कास्टिङ टिम, निडर निर्देशक, टाइममा पारिश्रमिक दिने निर्मातासँग काम गरेकी छु।  

कुरा प्रकाश फिल्मको : चलचित्र अवार्डप्रति मेरो आस्था छ। एकदिन मेरो मिहेनत पुगेको, भाग्य खोलेको दिन मैले पनि पाउने अठोट लिएकी छु। हिजो आर्टिकल पढें, बेस्ट फिल्म अवार्ड हराएको रहेछ। फिल्म एकदम राम्रो छ, अवार्ड लायक। यसरी पुरस्कार गायब गरिएकोबारे घोर निन्दा गर्दछु। चाँडै न्याय पाइयोस् भन्ने माग गर्दछु। परेमा अझै साथ दिइनेछ। किनकि अन्याय भोगेकी म र अन्य धेरैलाई थाहा छ, कति पोल्छ, दु:ख हुन्छ भनेर। सबैको भलो होस्! जय नेपाली सिनेमा!

हेरौँ उनको पोस्टः

यस बिषयमा तपाइको प्रतिक्रिया...!