बाँके बालसुधार झडपः फरार ९ बालबन्दी अझै सम्पर्कविहीन

Posted on: 22 Sep, 2023

असोज ५, काठमाडौँ |  बाँकेको बाल सुधार गृहमा भएको झडपपछि भागेका २५४ बालबन्दीहरु मध्ये २४५ जना प्रहरी नियन्त्रणमा आएका छन् । ९ जना अझै प्रहरीको सम्पर्कमा नआएको बाँके प्रहरीले जनाएको छ ।

बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा गयरातभरी भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने २५४ जना बालबन्दीहरु सुधारगृहबाट भागेका थिए । झडपमा घाइते भएका कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भएको थियो । केसी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए ।

बिहीवार राती १० बजेबाट कैदीबन्दीबीच झडप शुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसबाकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले बताए ।


बाँकी रहेका ९ जनाको खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए । झडपका क्रममा ११ जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

कैदीबन्दीहरुले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन् । बालसुधार गृहमा पोशाक र हतियारसहितको प्रहरी तैनाथी नरहने प्रहरीले जनाएको छ । सुधार गृह संचालन गर्ने संस्थाको ब्यवस्थापनमा सीमित सिभिलमा प्रहरी मात्र खटिने गरेको प्रहरीको भनाइ छ ।

गतवर्षको माघ २६ गते पनि बालसुधार गृहमा तोडफोड र आगजनी गरिएको थियो । कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएकाहरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरेका थिए ।

सुधारगृमा राखिएका लागूऔषध सेवनको कुलतमा फसेका र लागूऔषध सेवन नगर्ने किशोरहरुबीच विवाद बढ्दै जाँदा झडपको स्थिति आएको बताइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!