कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने

Posted on: 25 Sep, 2023

असोज ८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!