सामाजिक सञ्जालमा लेखिएको स्टाटसकै आधारमा नेपालगञ्जमा साम्प्रदायिक प्रदर्शन

Posted on: 03 Oct, 2023

असोज १६, नेपालगञ्ज | सामाजिक सञ्जालमा लेखिएको स्टाटसकै आधारमा नेपालगञ्जमा तनाव बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार असोज १४ गते (आइतबार) सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर प्रदर्शन भएको थियो ।

मुस्लिम समुदायले विरोध र्‍याली निकालेपछि मंगलबार ओमकार परिवार हिन्दु समाजले पनि र्‍याली निकालेको स्थानीय प्रशासनको भनाइ छ । ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोडका साथै ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।


स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो ।

नेपालगञ्ज उपमहानगरका पूर्व मेयरसमेत रहेका सांसद धवलशमशेर जबराले नेपागञ्जमा हिंसा भड्किन नदिन तथा परिस्थितिलाई तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँदै सो क्षेत्रमा मोबाइल नेटवर्क बन्द गर्न माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबारमात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पु‍र्‍याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभाबी नलेख्न आग्रह गरेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय बाँकेको चेतावनी थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!