तीनकुने हत्याका अभियुक्तको सनसनीपूर्ण बयान: अनुसन्धान गर्न प्रहरीलाई चाहियो अमेरिकामा मात्रै प्रयोगमा आएको ब्रेन फिंगरप्रिन्ट

Posted on: 03 Oct, 2023

असोज १६, काठमाडौँ | काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्याका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारी फरक क्षमता (बोल्न नसक्ने)का छन् । तर, उनले सहयोगीमार्फत दिएको बयान यति सनसनीपूर्ण छ, जसको अनुसन्धान गर्न प्रहरीलाई यतिवेला अत्याधुनिक ब्रेन फिंगरप्रिन्ट (बिएफ) आवश्यक देखिएको छ । उनले १६ जनाको हत्या गरेको बयान दिएपछि प्रहरीले अनुसन्धानको घेरा फराकिलो पारेको छ । 


ब्रेन फिंगरप्रिन्ट मस्तिष्कभित्र संग्रहित तरंग मापन गरी भण्डारण भएका सूचना पत्ता लगाउने अपराध अनुसन्धानको अत्याधुनिक प्रविधि हो । यसमा इयजी (इलेक्ट्रोइन्सेफलोग्राम)मार्फत मस्तिष्कलाई सक्रिय तुल्याइन्छ । र, घटनास्थल, आतंकवादजन्य तालिम र बम बनाउने सीपलगायतका विषयसँग सम्बन्धित सूचना शब्द र दृश्यमार्फत उतारिन्छ । 

तीनकुने सामूहिक हत्याको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले अभियुक्त भण्डारीको केसमा ब्रेन फिंगरप्रिन्टको आवश्यकता खट्किएको बताए । ‘तीनकुने सामूहिक हत्याको अनुसन्धान भइरहेको छ । अभियुक्तले सनसनीखेद बयान दिइरहेको छ, जसलाई पत्ता लगाउन मस्तिष्ककै ‘म्यापिङ’ गर्नुपर्ने देखिएको छ । तर, हामीकहाँ त्यो प्रविधि छैन । यद्यपि, चिकित्सकसँग यस विषयमा छलफल भने भइरहेको छ,’ उनले भने । 

अमेरिकी सरकारी संयन्त्र नेसनल लाइब्रेरी अफ मेडिसिनमा उल्लेखित विवरणअनुसार बेन फिंगरप्रिन्टले मानिसको मस्तिष्क मापन गर्छ । अमेरिकी फौजदारी मुद्दाहरूमा यसको प्रयोग गरिसकिएको छ । जसलाई त्यहाँको अदालतले पनि स्वीकार गरिसकेको छ । तर, नेपालमा यो प्रविधि हालसम्म प्रयोगमा आउन सकेको छैन । 

अमेरिकामा यसको औपचारिक प्रयोगअघि अनुसन्धान निकायहरू एफबिआई, सिआइए, अमेरिकी नेभीलगायतको प्रयोगशालामा परीक्षण गरिएको थियो । जसमा शतप्रतिशत सकारात्मक नतिजा देखिएको थियो । यद्यपि, यसको वैधताका लागि अझै पनि वैज्ञानिक मापदण्ड पूरा गर्न आवश्यक रहेको बताइएको छ । तर, यो अपराध अनुसन्धानमा प्रयोगमा आएका वैकल्पिक माध्यमभन्दा प्रभावकारी रहेको लाइब्रेरी अफ मेडिसिनको वेबपेजमा उल्लेख छ । 

गत २९ भदौमा दिव्य सःमिलमा कार्यरत दोलखा कालिञ्चोक गापा– ८ का ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, उनकी आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटा भिरगाउँ गापा– २ का १९ वर्षीय नवीन भनिने विशाल राईकोे सामूहिक हत्या भएको थियो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले भण्डारीलाई ३१ भदौमा सिन्धुपाल्चोकस्थित बाह्रबिसेबाट पक्राउ गरी ल्याएको थियो । हिरासतमा रहेका उनीविरुद्ध अहिले अनुसन्धान जारी छ । उनले सिन्धुपाल्चोकसहित काठमाडौं उपत्यकामा गरी १६ जनाको हत्या गरिसकेको बयान दिएका छन् । 

‘अभियुक्तले १६ जनाको हत्या गरेको बयान दिएको छ । ठाउँ ‘भेरिफाई’ गर्दा केही बयान मिलेजस्तो पनि देखिन्छ । त्यसै पनि यो अन्य अभियुक्तभन्दा फरक क्षमताको छ । सामान्य ढंगले सोधपुछ गर्न सकिँदैन । सहयोगीमार्फत दिएको बयान डरलाग्दो छ,’ परिसर प्रमुख एसएसपी खत्रीले भने, ‘त्यसो हुँदा यसको दिमाग नै ‘म्यापिङ’ गर्नुपर्ने देखिन्छ । यद्यपि, हामीले सबै घटना एकै ठाउँ ल्याएर विश्लेषण गरिरहेका छौँ । अन्तर्राष्ट्रिय अभ्यास पनि अध्ययन गरिरहेका छौँ ।’ 

प्रहरीका अनुसार भण्डारीले दिएको बयानसँग बौद्धको घटना मिल्न जान्छ । २५ जेठ ०७८ मा बौद्धस्थित टाउन प्लानिङमा बोराभित्र प्याकिङ गरिएको अवस्थामा मानिसको खुट्टा फेला परेको थियो । तर, प्रहरीले घटनासँग सम्बन्धित कुनै तथ्य फेला पार्न सकेको थिएन । पछि प्रहरीले उक्त खुट्टा पशुपतिस्थित शव दहन क्षेत्रबाट कुनै तान्त्रिकले ल्याएर फ्याँकेको निष्कर्ष निकालेको थियो । तर, घटनाको दुई वर्षपछि भण्डारीले उक्त घटना आफूले गरेको बताएका छन् । ‘भेरिफाई’ गर्न सिसिटिभी फुटेज हेर्नसमेत सुझाएका छन् । 

योसँगै भण्डारीले भक्तपुरको बोडेमा त्यस्तै हत्या गरेको र शव खोलामा फ्याँकेको बताएका छन् । तीन वर्षअघि भक्तपुरस्थित हमुमन्ते खोलामा टाउको काटिएको महिलाको शव फेला परेको थियो । उक्त घटनामा पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको थिएन । न शवको नै सताखत गर्न सकेको थियो । त्यसबाहेकका ठाउँमा पनि उनले हत्या गरेको बयान दिएका छन् । हत्या गरिएकालाई खल्डो खनी गाडेको भनेका छन् । पत्ता लगाउन प्रहरी उनलाई सँगै लिएर जाँदा कतिपय ठाउँमा घर बनिसकेका प्रहरीको भनाइ छ । 

परिसरका प्रमुख एसएसपी खत्रीले भने, ‘यसले जसरी सःमिलमा हत्या गरेको छ । त्यसको ‘प्याट्रन’ हेर्दा यसले विगतमा पनि त्यस्तै ठूलो हत्या गरेजस्तो देखिन्छ । त्यसो हुँदा यो सामान्य अभियुक्तभन्दा फरक रहेको अनुसन्धानबाट देखिन्छ । विभिन्न कोणबाट भेरिफाई गर्ने र अनुसन्धान गर्ने क्रम जारी छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!