श्रीमानको हत्या गर्नेलाई आममाफी दिएको विरोधमा अनशन बसिन् भारती

Posted on: 04 Oct, 2023

असोज १७, काठमाडौँ | भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले आममाफी दिएकोविरुद्ध अनशन सुरु गरेकी छन् ।

माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताइन् ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए । श्रीमानको हत्या गर्नेलाई पुन: जेलमा पठाउनुपर्ने मागसहित भारतीले अनशन सुरू गरेकी हुन् । 

आठ वर्ष भइसक्दा पनि अझै उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताइन् । चेतनको हत्यारा कारागारमा छ भन्दा पनि आफूलाई विगतमा केही राहत महसुस भएको पनि राष्ट्रपतिले आममाफी दिएर पुरानो घटनाको पीडा दोहोर्याइदिएको उनको आरोप छ । 

रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!