काठमाडौँमा दिउँसै लाखौँको चोरी

Posted on: 04 Oct, 2023

असोज १७, काठमाडौँ | दसैँ तिहार नजिकिएसँगै काठमाडौँमा चोरीका घटनाहरू बढेका छन् । यसै क्रममा तारकेश्वर नगरपालिका-५ बस्ने २५ वर्षीय होम बहादुर बस्नेतको घरमा कोही नभएको अवस्थामा चोरी भएको छ ।

झ्यालबाट प्रवेश गरेर सुनका विभिन्न गहना गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको  प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

यसअघि सोमबार राति काठमाडौँ महानगरपालिका-१९ दमाईटोल डेरा गरी बस्ने महोत्तरी गौशाला नगरपालिका-४ बिर्ता घर भएका २८ वर्षीय रञ्जित ठाकुरको कोठामा कोही नभएको अवस्थामा ताल्चा फुटाई २ तोलाको सुनका सिक्री २ थान, आधा तोलाको सुनको कानमा लगाउने झुम्का १ थान र नगद ५२ हजार रुपैयाँ चोरी भएको थियो ।

प्रायः दिउँसो तथा रातिको समयमा चोरीका घटनाहरू बढ्न थालेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

यसअघि काठमाडौँको घट्टेकुलो चोक नजिक बस्ने चन्द्रकेशरी बज्राचार्यको घरमा, भक्तपुरको गठ्ठाघरस्थित अरनीको बस्तीमा बस्ने सबिन निरौलाको कोठा र भक्तपुरको  दधिकोट नयाँबस्तीमा सानुमाया चित्रकारको कोठामा चोरी भएको थियो ।

बज्राचार्यको घरबाट नगद रु एक लाख ६० हजार, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामान गरी करिब रु छ लाख ६६ हजार, निरौलाको कोठाबाट ल्यापटप, घडी र नगद गरी करिब रु एक लाख सात हजार तथा चित्रकारको कोठाबाट करिब रु नौ लाख ६५ हजार सातसय बराबरको धनमाल चोरी भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!