बलात्कार आरोप लागेका ६८ वर्षे कानून व्यवसायी भोजबहादुरको बयान- लमीले भेटाएपछि लिभिङ टुगेदरमा थियौं

Posted on: 05 Oct, 2023

असोज १८, काठमाडौँ | बलात्कारको आरोपमा पक्राउ परेका ६८ वर्षे कानून व्यवसायी भोजबहादुर केसीले जाहेरवालासँग आफू लिभिङ टुगेदरमा रहेको दाबी गरेका छन् ।

सरकारी वकिलसँगको बयानमा केसीले श्रीमतीको मृत्यु भएपछि लमीमार्फत चिनजान भएकी जाहेरवालालाई आफूले कोठा खोजेर थानकोटमा राखेको बताएका छन् । जाहेरवालाले भनेअनुसारको काम नगरेकाले आफूविरुद्ध बलात्कारको आरोप लगाएको केसीको दाबी छ ।

केसीका अनुसार तीन वर्षअघि एक राष्ट्रिय दैनिकमा आफूले बुढेसकालको सहाराका लागि ४०/४५ वर्षको महिला विवाहको चाहिएको छ भनेर विज्ञापन हालेका थिए । त्यसपछि विनोद चन्द नाम गरेका लमीले आफूलाई सम्पर्क गरी जाहेरवालासँग भेटाएको उनको बयान छ ।


श्रीमान्‌को मृत्यु भइसकेकी जाहेरवालासँग सबै कुरा मिलाएर विवाह गर्ने सर्तसहित थानकोटमा आफैँले डेरा खोजेर उनको एक सन्तानको समेत लालनपालन गर्दै आएको केसीको दाबी छ । यता जाहेरवालाले पनि जाहेरीमा चन्दमार्फत केसीसँग भेट भएको र उनैले कोठा खोज्नसम्म सहयोग गरेको उल्लेख गरेकी छिन् । भविष्यमा मन मिलेमा विवाह गर्ने सर्त आफूले राखेको र कोठामा दिउँसोको समयमा कहिलेकहीँ आउने गरेको स्वीकारेकी छिन् ।

बानी व्यहोरा मन परेमा विवाह गर्ने आफ्नो सोच रहेको भएपनि विस्तारै प्रतिवादी मन नपरेकाले आफू उनीसँग विवाह नगर्ने मनस्थितिमा पुगेको उनले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ । केसीले शारीरिक र मानसिक यातना दिनुका साथै जबर्जस्ती शारीरिक सम्बन्ध राखेको जाहेरवालाको आरोप छ ।

यता केसीले ६ महिनाअघि जाहेरवाला अन्य व्यक्तिहरूसँग पनि प्रेम सम्बन्धमा रहेको थाहा पाएकाले बारम्बार सम्झाउँदा पनि नमानेको र नमानेपछि आफूले दिएका सबै गरगहना फिर्ता मागेको बयान दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!