जोरपाटीमा ८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ, श्रीमतीले फसाएको दाबी

Posted on: 06 Oct, 2023

असोज १९, काठमाडौँ | काठमाडौंको जोरपाटीमा ८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका बाबुविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

२०७९ माघ ८ गते छोरीलाई बलात्कार गरेको भन्दै श्रीमान्‌विरुद्ध श्रीमती (आमा) ले जाहेरी दिएकी थिइन् । जाहेरवालाका अनुसार छोरीले गत भदौ १४ गते करिब एक वर्ष पुरानो घटनाबारे बताएपछि उनले प्रहरीमा उजुरी दिएका हुन् ।

बालिकाले बाबुले मादक पदार्थ सेवन गरेर आएर आफूलाई बलात्कार गरेको बताएकी थिइन् । ल्होसारका दिन आमा बाहिर गएको र दिदी अर्कै कोठामा रहेको मौकामा बाबुले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । श्रीमान्-श्रीमती गलैँचा कारखानामा काम गर्दै आएका थिए ।

पक्राउ परेका बाबुले आफूलाई श्रीमतीले फसाएको र छोरीमाथि कहिल्यै त्यसो नगरेको दाबी गरेका छन् । समय-समयमा घरायसी विवाद हुँदा श्रीमतीले आफूलाई फसाउने गरेको उनको बयान छ । भदौ १४ गते छोराको जन्मदिन मनाएर त्यसमा संकलन भएको पैसा लिएर आफू ललितपुरको चापागाउँमा गलैँचा कारखानामा काम गरेर बसेको र भदौ २३ गते कोठामा फर्कँदा श्रीमतीले प्रहरी लगाएर पक्राउ गरेको उनले बयानका क्रममा उल्लेख गरेका छन् ।

उनीविरुद्ध १६ देखि २० वर्षसम्मकै कैद सजाय माग गरिएको छ । हाडनातामा भएको बलात्कारमा थप ३ देखि ६ वर्ष कैद पनि मागदाबी लिइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!