श्रीमान् विरुद्ध पक्राउ पुर्जी जारी भएपछि सुप्रियाको आक्रोश- निर्दोषलाई फसाउन खोज्ने ?

Posted on: 08 Oct, 2023

असोज २१, काठमाडौँ | चलचित्र ‘प्रसाद २’ प्रकरणमा श्रीमान् सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पत्नी सुप्रिया कट्‍वालले आक्रोश पोखेकी छन् ।

देशमा पहुँच हुनेले जे गरे पनि हुने भन्दै उनले फेसबुकमा लेखेकी छन्, ‘प्रहरीले जाहेरीमा समेत प्रमाण नदेखेपछि सीधै सरकारी वकिलमार्फत् गएर राजनीतिक पहुँचका भरमा पक्राउ पुर्जी जारी गर्ने ? न्यायालयको त विश्वास छैन, कसको विश्वास रह्यो र ? पारिश्रमिकमा काम गर्ने निर्देशक, सम्पादक र आफ्नो लगानीले डिजिटल राइटस् लिने कम्पनी सञ्चालकजस्ता निर्दोष मान्छेलाई फसाउने ?’

उनले राजनीतिक शक्तिको चरम दुरुपयोग भएको भन्दै मुख्य नाइकेलाई पक्रेर अगाडि ल्याउन चुनौती दिएकी छन् ।

निर्देशक थापाविरुद्ध आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ । जाहेरीलगत्तै पक्राउ पूर्जी जारी गरिएको छ । यो घटनामा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् ।

‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले आफ्नो अनुमति र मन्जुरीविना नै अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रूपैयाँको आर्थिक नोक्सानी पुर्‍याएको दाबी गरेका छन् ।

श्रीमान्विरुद्ध पक्राउ पुर्जी जारी भएपछि आक्रोशित भएकी कटुवालले अभिनेता अनमोल केसी विरुद्ध पनि गएको भदौ ८ गते ‘रावायण’ फिल्ममा आपराधिक विश्वासघात गरेको भन्दै उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा अभिनेता केसी तीन दिनसम्म हिरासतमा बसेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!