घाइते भएका प्रवीण ‘खतरामुक्त’, इजरायलबाटै फोन गरेर बुवालाई भने– अब चिन्ता नगर्नुस्

Posted on: 09 Oct, 2023

असोज २२, काठमाडौँ | इजरायलमा प्यालेस्टाइनी हमास समूह​काे आक्रमणमा परी घाइते भएका दाङको दंगिशरण गाउँपालिका–३, हेकुलीका प्रवीण डाँगीले अब आफ्नो बारेमा चिन्ता नलिन परिवारलाई आग्रह गरेका छन् । हमासले इजरायलमा आक्रमण गरेसँगै प्रवीण शनिवार बिहान ११ बजेदेखि सम्पर्कबिहीन भएका थिए ।

आइतवार दिउँसो इजरायलस्थित अस्पतालको शैय्याबाट नर्सको मोबाइलमार्फत उनले परिवारलाई सम्पर्क गरेको बुवा निमबहादुर डाँगीले बताए । इजरायलमा आक्रमण भएको र त्यसमा नेपाली पनि परेको खबर सुनेपछि डाँडीको परिवार बेचैन थियो । प्रवीण खतरामुक्त रहेको बताइएको छ ।

बुवा निमबहादुरका अनुसार प्रवीणलाई गोली लागेको छ । उनका दुवै खुट्टामा गोली लागेकाे छ । जसमध्ये एउटाको शल्यक्रिया भइसकेको छ । 


‘आइतवार राति ८ बजेतिर पुनः छोरा प्रवीणसँग कुरा भएको थियो,’ बुवा निमबहादुरले भने, ‘फोनमा कुराकानीमा क्रममा उसले खुट्टाको शल्यक्रिया गरिएपछि एउटा अस्पतालबाट अर्कोमा सारेको बतायो ।’

सोमवार बिहान पनि प्रवीणले साथीको फोनबाट भिडियो कल गरेको उनले जानकारी दिए ।  

प्रवीण परिवारका कान्छा छोरा हुन । सुदूरपश्चिम विश्वविद्यालयको पहिलो कृषि विज्ञ (सेलेक्टिभ) टोलीमार्फत ११ महिनाका लागि उनी इजरायल गएका थिए ।  बीएस्सी एजी पढेर गत भदौ २३ गते प्रवीण इजरायल गए । उच्च शिक्षा हासिल गरेर नेपाल आएर केही गर्ने सोच बनाएको छोरा आउनुअघि नै विदेशमा आक्रमणको शिकार हुँदा आफूहरू ठूलो पीडामा रहेको परिवारले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!