विश्वकीर्तिमानी आरोही तेन्जेन शेर्पा शिसापाङ हिमपहिरोमा परी बेपत्ता

Posted on: 09 Oct, 2023

असोज २२, काठमाडौँ | विश्वकीर्तिमानी आरोही तेन्जेन शेर्पा बेपत्ता भएका छन्। चीनको तिब्बतमा रहेको सिसापाङ्मा हिमाल आरोहणका लागि गएको टोलीमा सामेल शेर्पा बेपत्ता भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए।

शनिबार गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यानसमेत गएको छ। ज्यान गुमाउनेमा नेपाली आरोही मिङमा शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन्। उनीहरू यो सिजनमा सिसापाङ्मा जाने पहिलो टोली भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।


८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहणको लक्ष्य लिएका अमेरिकी नागरिक गीना म्यारी र एन्ना नेपाली गाइड लिएर सिसापाङमा लागेका थिए। एन्ना गुटु र उनका नेपाली गाइड मिङ्मा शेर्पा मृत भेटिँदा गिना र उनका गाइड तेन्जेन शेर्पा बेपत्ता छन्।

गिना र एन्नाले ८ हजार मिटरमाथिका १४ मध्ये १३ हिमालको सफल आरोहण गरेका थिए।

बेपत्ता तेन्जेन शेर्पाले सबैभन्दा छोटो समयमा नै ८ हजार मिटरमाथिका सबै हिमाल आरोहणको विश्व कीर्तिमान बनाएका छन्। उनले ९२ दिनमा ८ हजार मिटर माथिका १४ हिमालको सफल आरोहण गरेका छन्। यसअघि यो रेकर्ड अर्का नेपाली निर्मल पुर्जाले बनाएका थिए।

पुर्जाले १८९ दिनमा १४ वटै हिमाल आरोहण गरेर बनाएको विश्वकीर्तिमान तेन्जेनले तोडेका थिए।

सिसापाङ्मा हिमालमा हिजो शनिवार दिउँसो सात हजार ६ सय मिटरमाथिको भागमा हिमपहिरो गएको थियो।

हिमपहिरो गएको स्थानभन्दा ६ सय मिटर तलको स्थानमा रहेका निर्मल पुर्जाको टोली भने सकुशल रहेको विभागका निर्देशक गुरुङले जानकारी दिए।

आरोहणमा गएको अर्को टोलीका सदस्य कर्मा शेर्पा गम्भीर छन्। यस्तै कामीरिता शेर्पा पनि घाइते भएका छन्।





यस बिषयमा तपाइको प्रतिक्रिया...!