अस्पतालबाटै नवजात शिशु बेच्ने डाक्टर र बुवासहित ६ जनाविरुद्ध मुद्दा, आजदेखि बहस

Posted on: 10 Oct, 2023

असोज २३, विराटनगर | अविवाहित युवतीले जन्माएको शिशु बेचेको घटनामा संलग्नविरुद्ध दायर मुद्दामाथि आजबाट बहस सुरू भएको छ । विराटनगरमा रहेको ग्रीनक्रस अस्पतालमा कार्यरत चिकित्सक, बच्चाका बाबुसहित ६ जनाविरुद्ध शिशु बेचेको अभियोगमा अपहरण तथा व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसूरमा जिल्ला अदालत मोरङमा सोमबार मुद्दा दायर भएको छ ।

प्रहरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्ण, सिरहा घर भई विराटनगर-११ जनपथ टोल बस्ने ४० बर्सिया नीरु भनिने निर्मला यादव, भोजपुरको हतुवागढी गाउँपालिका-४ का २७ वर्षीय गोविन्द राई, मोरङको इटहरी गाउँपालिका-२ आदर्श टोलकी ३३ बर्सिया सुधा भनिने सुक्री राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई प्रतिवादी बनाएको छ ।


घटनाको अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पार्दै ६ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ । प्रहरीले गत शुक्रवार वकिल कार्यालयमा मिसिल बुझाएको थियो ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार इजलासमा प्रतिवादीहरूको बयान मंगलबारबाट सुरू भएको छ । उनीहरूको बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुने छ ।

बहस सकिएपछि प्रतिवादीहरूलाई साधारण तारेखमा वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश इजलासबाट आउने सुवेदीले बताए ।

नवजात शिशुका बुवा गोविन्द राईसमेतको मिलेमतोमा शिशु बेचिएपछि प्रहरीले मोरङको इटहरी गाउँपालिका-२ बाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो । अविवाहित युवतीले गत असार १४ गते जन्माएको शिशु (छोरी) लाई जन्मनसाथ अस्पतालबाटै गायब पारिएको थियो ।

प्रहरीको अनुसन्धानबाट डा. तपेश्वरले बच्चा दिलमनीदेवीको परिवारलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ ।

अविवाहित २६ वर्षीया युवतीले ‘नर्मल डेलिभरी’ मार्फत ग्रीनक्रस अस्पतालमा असार १४ गते छोरी जन्माएकी थिइन् । प्रेमी गोविन्दसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो ।

युवतीले साउन ३२ गते मोरङ प्रहरीमा बच्चा हराएको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

मुद्दामा प्रतिवादी बनाइएका गोविन्द शिशुका बाबु हुन् । बच्चाकी आमा (अविवाहित युवती) लाई थाहै नदिइकन उनका प्रेमी अर्थात् बच्चाका बाबु (गोविन्द), चिकित्सक (डा. तपेश्वर) र अस्पतालमा काम गर्ने कर्मचारीसमेतको मिलेमतोमा दिलमनीदेवीको परिवारलाई बच्चा बिक्री गरिएको पत्ता लागेको छ ।

डा. तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्व मेसु) थिए । उनको विराटनगर-९ मा दिपेश मेडिकल हल छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!