श्रीमान्‌का हत्यारा रिगलको आममाफीविरुद्ध भारतीको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

Posted on: 12 Oct, 2023

असोज २५, काठमाडौँ | नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिटउपर आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

उक्त मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मी सम्मिलित पूर्ण इजलास तोकिएको हो ।

चेतनकी पत्नी भारतीको रिटमाथि प्रारम्भिक सुनुवाइको क्रममा असोज १८ गते न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको थियो ।

अदालतले रिट निवेदनमा उठाइएका कानूनी जटिलता र महत्वको विचार गर्दै पूर्ण इजलासमा पेश गर्न र यसलाई अग्राधिकार दिएर आजका लागि गते सुनुवाइको लागि पेशी चढाउनसमेत शर्तसहित आदेश दिएको थियो ।

अदालतले सो रिट निवेदनको टुंगो नलागेसम्म निवेदक भारती शेर्पा र उनको परिवारका सदस्यलाई सुरक्षा प्रदान गर्नसमेत गृहमन्त्रालयलाई लेखेर पठाउन आदेश दिएको छ । गुण्डा नाइके रिगलबाट रिट निवेदक भारती तथा उनको परिवारमाथि हुनसक्ने खतरालाई मध्यनजर गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

न्यायाधीश शर्माले रिगल ढकालसँग जोडिएका सबै फैसला, निर्णयसहितको सक्कल मिसिलहरुसमेत मगाएको छ । अदालतले सो निवेदनलाई गम्भीर रूपमा लिएर महान्यायाधिवक्ता स्वयंलाई बहसमा उपस्थित हुनसमेत आदेश दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!