वायुमण्डलमा ‘लो प्रेसर एरिया’ले मनसुन बाहिरिन ढिला, दसैँमा पानी पर्छ ?

Posted on: 12 Oct, 2023

असोज २५, काठमाडौँ | यो वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु भएको सात दिन भइसकेको छ । असोज १९ गते सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु गरेको थियो । 

कर्णालीको सम्पूर्ण र लुम्बिनीको अधिकांश भू–भाग तथा गण्डकी प्रदेशको पश्चिम भू–भागबाट पनि यो वर्षको मनसुन बुधबार (हिजो) बाहिरिएको छ ।

गण्डकी प्रदेशकै पूर्वी भू–भाग र वाग्मती, मधेस र कोसी प्रदेशमा अझै मनसुन सक्रिय छ । अक्टोबर २ नेपालबाट मनसुन बाहिरिने औसत मिति हो । यो वर्ष औसत मितिभन्दा १० दिन बितिसके पनि मनसुन बाहिरिइसकेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै पूर्ण रूपमा मनसुन बहिर्गमनका लागि केही दिन लाग्नेछ ।


मध्य र पूर्वी नेपालमा अहिले पनि वर्षा भइरहेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत २४ घण्टामा कोसी प्रदेशको एक ठाउँमा ५० मिलिमिटर वर्षा मापन गरिएको छ । अझै केही दिन वर्षा हुने देखिएको उनको भनाइ छ ।

मनसुन बाहिरिने औसत मिति नजिकिरहेका बेला अघिल्लो साता देशका धेरै स्थानमा दुई/तीन दिनसम्म लगातार वर्षा भयो । काठमाडौं उपत्यकालगायत केही भू–भागमा झरी नै पर्‍यो ।

मनसुनी प्रणाली सकिने बेलामा विकास भएको ‘लो प्रेसर एरिया’ले पानी पारेको मौसमविद् मानन्धरले बताइन्। “मनसुन बाहिरिने बेलामा वायुमण्डलमा लो प्रेसर एरिया विकास हुन पुग्यो । यसले गर्दा यो वर्ष मनसुन बाहिरिन ढिलो भयो,” उनले भनिन्, “यसको असर अहिले पनि हल्का रूपमा परिरहेको छ । त्यसैले मध्य तथा पूर्वी नेपालमा वर्षा भइरहेको छ ।”

लो प्रेसर एरियाकै प्रभावले यो वर्षा मनसुन बाहिरिन ढिलाइ भएको उनले बताइन् । यसकै कारण पश्चिमबाट पूर्वतर्फ मनसुनी प्रणाली बाहिरिने क्रममा सर्ने गति सुस्त देखिएको उनले जानकारी दिइन् । लो प्रेसर एरियाको यही गति रहिरहे मनसुन बाहिरिन अझै केही दिन लाग्ने उनको भनाइ छ ।

यद्यपि, यो सामान्य प्रक्रिया भएको मौसमविद् मानन्धरले बताइन् । “कुनै वर्ष मनसुनी प्रणाली बाहिरिन लामो समय लाग्छ, कुनै वर्ष चाँडै पनि हुन्छ । बहिर्गमनको सवालमा मात्रै होइन, मनसुन भित्रिँदा पनि यस्तै हुने हो,” उनले भनिन्, “कुनै वर्ष मनसुन भित्रिएको अर्को दिन नै पूर्वबाट पश्चिम फैलिन सक्छ । तर, कुनै वर्ष पूर्वबाट भित्रिएको मनसुन सुदूरपश्चिमसम्म पुग्न ८/१० दिन पनि लाग्छ । बाहिरिन पनि त्यस्तै हो ।”

मनसुन बाहिरिएपछि पानी पर्दैन ?

मनसुन बाहिरिए पनि पानी नपर्ने भन्ने हुँदैन । नेपाली भू–भागबाट पूर्ण रूपमा मनसुन बाहिरिए पनि पानी पर्ने उनले बताइन् । पश्चिमी वायुको असरका कारण जुनसुकै बेला वर्षा हुन सक्ने उनले सुनाइन् ।

“वेस्टर्न डिस्टर्वेन्सका कारण सुदूरपश्चिम र पश्चिम नेपालमा मनसुन बाहिरिएपछि पानी पर्न सक्छ । यो यसअघि पनि भएको थियो । र, आगामी दिनमा पनि हुनसक्छ,” उनले भनिन् “मनसुन बाहिरिँदैमा पानी पर्दैन भन्ने हुँदैन ।”

दसैँमा पानी पर्छ ?

मनसुन बाहिरिएपछि केही समय ‘पोस्ट मनसुन’को सिजन रहन्छ । अक्टोबर र नोभेम्बर दुई महिनालाई पोस्ट मनसुन मानिन्छ । यो समयमा पनि वर्षाको सम्भावना रहने मौसमविद् सुदर्शन हुमागाईंले बताए ।

“पोस्ट मनसुनमा पनि पानी पर्ने सम्भावना हुन्छ,” उनले भने ।

दसैँ पोस्ट मनसुनको अवधिभित्र पर्ने भएकाले यो समयमा पानी पर्ने सम्भावनालाई नकार्न नसकिने मौसमविद् बताउँछन् । मनसुन बाहिरिएपछि मुख्यतः दुई प्रणाली विकास भएर पानी पर्ने सम्भावना हुन्छ । पहिलो, पश्चिमी वायुको प्रभाव र दोस्रो, बंगालको खाडीबाट बन्ने चक्रवातबाट विकास हुने प्रणालीले वर्षा गराउने सम्भावना रहने मौसमविद् राजु प्रधानाङ्गले बताए ।

तर, मनसुन बाहिरिएपछि विकास हुने पश्चिमी वायुको प्रभाव निकै कमजोर हुने उनले उल्लेख गरे । यसको प्रभाव जति कमजोर हुन्छ, पानी पर्ने सम्भावना त्यति नै कम हुने उनले बताए । बंगालको खाडीबाट आउने चक्रवातले पनि वर्षा गराउने तर यो सधैँ र लामो समय नहुने उनको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!