प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता

Posted on: 13 Oct, 2023

असोज २६, लन्डन | बेलायती सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रस र नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माबीच लन्डनमा भेटवार्ता भएको छ । बेलायती सेनाध्यक्षको औपचारिक निमन्त्रणामा बेलायत भ्रमणमा रहेका शर्मा र स्यान्ड्रसबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेट र छलफल भएको हो ।

भेटका क्रममा दुई देशका सेना प्रमुखबीच द्धिपक्षीय सैनिक सम्बन्ध तथा सहयोगका क्षेत्रमा विकास र विस्तार गर्ने बारेमा छलफल भएको थियो । सो क्रममा बेलायती सेनाका सेनाध्यक्ष स्यान्ड्रसबाट नेपाली सेनाको पेशागत क्षमताको अभिवृद्धि, विकास तथा विस्तारमा सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

छलफलमा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सन्तोष ढकाल, सैनिक सहचारीहरु सहायक रथी रत्न बहादुर गोदार र कर्नेल पल स्मिथ पनि सहभागी थिए ।

यसैबीच प्रधानसेनापति शर्माले बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजको भ्रमण गरेका थिए । भ्रमणको दौरान उनलाई उक्त कलेजमा उच्च पदाधिकारीले स्वागत गर्नुका साथै कलेजमा सञ्चालन हुने तालिम गतिविधिबारे जानकारी गराइएको थियो ।

सोही अवसरमा प्रधान सेनापति लण्डनस्थित नेपाली राजदूतावासमा उहाँको सम्मानमा आयोजित रात्रिभोजमा सरिक भए । नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानसेनापति तथा भ्रमणदलका सदस्यहरूलाई स्वागत गर्दै बेलायत र नेपालबीचको द्विपक्षीय राजनीतिक, आर्थिक, सामाजिक, सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!