भारत लैजाँदै गरेको अवस्थामा प्रहरीद्वारा ५ जना बालिकाको उद्धार

Posted on: 13 Oct, 2023

असोज २६, बारा । भारततर्फ लैजाँदै गरेको अवस्थामा ५ जना बालिकालाई बारा प्रहरीले उद्धार गरेको छ । करैयामाई गाउँपालिका–१ बाट सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो ।

भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने सत्यव्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरूलाई भारत लैजान लागेका थिए । सोही क्रममा बालिकाहरूलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाइएको हो ।


करैयाँमाई गाउँपालिकाबाट १३ वर्षीय १ जना १४ र  १६ वर्षका २ र २ जना वालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । बालिकाहरूको फोटो सहित प्राप्त सूचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधबार अपराह्न विरगजंमा बालिकाहरू फेला परेको हो ।

प्रहरीको विशेष टोलीले खोज तलास गर्दै जाँदा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं १० आदर्शनगर स्थित रानीसति धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा उनीहरू फेला परेको जिल्ला प्रहरीका कार्यालय बाराले जनाएको छ ।  बालिकाहरूलाई भारत लैजान खोज्ने भारतीय युवक पक्राउ गरी उनीमाथि  अनुसन्धान कार्य भई रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!