लुटपाट आरोपमा दुई पूर्व प्रहरी पक्राउ

Posted on: 13 Oct, 2023

असोज २६, विराटनगर | विराटनगरमा सोमबार दिउँसो भएको लुटपाटमा संलग्न आरोपमा प्रहरीले दुई जना पूर्व प्रहरीलाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–१२ रानीका रविकुमार साह सुडीलाई लुटपाट गरेको आरोपमा दुई जना पूर्व प्रहरी पक्राउ परेका हुन्।

विराटनगर–१ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर–४ खारजीका ३६ वर्षीय सुनील थापालाई लुटपाट आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।


असोज २२ गते सोमबार दिउँसो १२ बजेतिर साह मोटरसाइकलमा रानीबाट विराटनगरतर्फ आउँदै गर्दा लुटपाटमा परेका थिए। विराटनगर–११ रोडशेष चोकमा आइपुगेपछि रानीतिरबाट पछ्याउँदै आएको बा ६७ प २५०४ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए। उनका अनुसार तामाङ बुधबार दिउँसो र थापा बिहीबार बिहान पक्राउ परेका हुन्। दुवैजना विराटनगर–१ धनावत पुल नजिकबाट पक्राउ गरेका थिए।

प्रहरीका अनुसार बाटोमा रहेको सिसी क्यामेरामा समेत साहको मोटरसाइकलको पछाडि लुटपाटमा संलग्न भएका एक जना बसेको देखिन्छ। साहको नागरिकतासहित उनको साथमा रहेको नगदसहितको झोला, बैंकको चेकबुक, विभिन्न बैंकका तीनवटा एटिएम कार्ड, मोबाइल र मोटरसाइकलको ब्लुबुक लुटेर लगे।

साहको साथबाट कति नगद लुटपाट भएको भन्ने यकिन हुन बाँकी रहेको र अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए। लुटपाट भएको भनिएको रकममध्ये पाँच लाख ६५ हजार रूपैयाँका साथै साहको नागरिकता, पैसाको झोला, चेकबुक, एटिएम, ब्लुबुकसमेत तामाङको घरभित्रबाट प्रहरीले बरामद गरेको छ। थापाको घरबाट तीन लाख रूपैयाँ बरामद भएको हो।

लुटपाट गरिएको रकम दुवै जनाले बाँडफाँट गरेर लिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घटनामा संलग्न भएकाहरू पूर्व प्रहरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!