नेपालमा भन्दा भारतमा बढी भोकमरी, वास्तविक स्थितिको मूल्यांकन गर्न नसकेको भारतको आरोप

Posted on: 13 Oct, 2023

असोज २६, काठमाडौँ | ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा सार्वजनिक भएको छ । कुल १२५ देशको तथ्यांक उपलब्ध भई गरिएको अध्ययनमा नेपाल ६९ औं स्थानमा रहेको देखिएको छ ।

दक्षिण एसियाली मुलुकमध्ये नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको छ । सूचकांकमा भारतको अवस्था निकै कमजोर देखिएको छ । दक्षिण एसियामा नेपालभन्दा अगाडि श्रीलंका ६० औं स्थानमा छ । भारत १११ औं स्थानमा पुग्दै भोकमरीले आक्रान्त मुलुकमध्येमा परेको छ ।

छिमेकी मुलुकहरु भन्दा आफ्नो स्थिति खराब देखिएसँगै भारतले यो प्रतिवेदनमाथि नै विरोध जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतले यसबारे तत्काल प्रतिक्रिया सार्वजनिक गर्दै प्रतिवेदन अमान्य भएको बताएको हो । भारतको महिला एवम् बाल विकास मन्त्रालयले यो प्रतिवेदन दुर्भावनाको नियतले बनाएको आरोप लगाएको छ । यस प्रतिवेदनले भारतको वास्तविक स्थितिको मूल्यांकन नै गर्न नसकेको समेत आरोप भारतको छ ।


ग्लोबल हंगर इन्डेक्स अलायन्स नामक एक समूहले तयार गर्छ । जसमा युरोपेली गैरसरकारी संस्थाले नेतृत्व लिएका छन् । यस नतिजाका लागि कुपोषणको अवस्थाबारे गणना गरिने अध्ययनमा उल्लेख छ । जसमा जनसंख्याको कति प्रतिशत जनसंख्यामा कम क्यालोरीवाला भोजन मिल्छ भन्ने विषयलाई अध्ययन गर्ने गरिन्छ ।

विश्वव्यापी भोकमरी सूचकांक २०२२ मा नेपाल ८१ औं स्थानमा थियो । यसमा व्यापक सुधार गर्दै नेपाल यस वर्ष ६९ औं स्थानमा आइपुगेको हो । नेपालको अवस्था सन् २००२ मा जोखिमपूर्ण अवस्थामा थियो । जोखिमपूर्ण अवस्थाबाट निरन्तर सुधार गर्दै आएको नेपाल सन् २०१५ मा ७८ औं स्थानमा थियो । यो सूचीमा पहिलो स्थानमा बेलारुस रहेको छ । यो सूचीमा नेपालभन्दा पछाडि दक्षिण एसियाका बंगलादेश ८१, पाकिस्तान १०२, भारत १११, अफगानिस्तान ११५ औं स्थानमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!