त्रिकोणात्मक श्रृंखलामा नेपाललाई स्पिन बलिङको चिन्ता- सन्दीप अनुपस्थित, ललित अनिश्चित

Posted on: 13 Oct, 2023

असोज २६, काठमाडौँ | सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएपछि आसन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई स्पिन बलिङको चिन्ता सुरु भएको छ । अदालतमा विचाराधीन मुद्दाको फैसलामा ढिलासुस्ती गरिएपछि असन्तुष्ट सन्दीपले बिहीबार मध्यरातमा सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका थिए ।

हालै चीनको होङ्झाउमा सम्पन्न १९ औं एसियाली खेलकुद-एसियाडमा सहभागी हुन पनि सन्दीपले आनाकानी गरेका थिए । नेपाल क्रिकेट संघका नवनिर्वाचित सचिव तथा पूर्वकप्तान पारस खड्काले सम्झाएपछि उनी चीन जान तयार भए । एसियाडपछि बिहीबारका लागि तोकिएको मुद्दाको पेशी पनि स्थगित गरिएपछि सन्दीपले एकतर्फी निर्णय लिएका छन् ।


नेपालले टी-२० विश्वकप छनोटको तयारीस्वरुप आगामी साता घरेलु मैदानमा हङकङ र यूएईलाई बोलाएर त्रिकोणात्मक श्रृंखला खेल्दैछ । नेपाली टोली तयारीका लागि यतिबेला राजस्थानमा रहेको छ ।

सन्दीपपछिका अर्का स्पीन बलर ललित राजवंशी यतिबेला नेपालमै छन् । एसियाड तयारीका क्रममा चोट लागेपछि उनी टीम बाहिर भएका थिए । उनले अप्रेसन नै गर्नु परेको थियो । उनी अझै बीएन्डबी अस्पतालमा रिह्याब गरिरहेका छन् । आसन्न टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि उपलब्ध हुने सम्भावना निकै कम देखिएको छ ।

‘यस किसिमको अप्रेसनमा कम्तीमा ४ देखि ६ हप्ता आराम गर्नुपर्छ । त्यसैले ललित सहभागी हुने सम्भावना न्यून छ’, क्यान स्रोतले भन्यो ।

नेपाली टोलीमा अहिले अलराउन्डर दीपेन्द्रसिंह ऐरी स्पिनर बलिङमा प्रभावकारी देखिएका छन् । उनीबाहेक कुशल मल्ल, रोहित पौडेल र कुशल भुर्तेलले पनि पार्टटाइम स्पिन फ्याक्न सक्छन् । तर, अनुभवी र विज्ञ स्पिनरको भने संकट परेको छ । जबकि नेपालको सबैभन्दा बलियो पक्ष नै स्पिन बलिङ मानिँदै आएको छ । सन्दीपले लामो समयदेखि स्पिन आक्रमणको नेतृत्व गरिरहेका थिए भने पछिल्लो समय ललितले पनि उनकै हाराहारीमा प्रदर्शन गरिरहेका छन् ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ललितले १२ खेलमा १० विकेट लिएका छन् भने उनको इकोनोमी ६.०२ रहेको छ । यस्तै सन्दीपले ४७ खेलमा ८९ विकेट हात पारेका छन् । उनको इकोनोमी ६.३६ रहेको छ । सन्दीप पछिल्लो समय भने राम्रो लयमा छैनन् । राष्ट्रिय टोलीबाट खेलेका पछिल्ला ५ खेलमा केवल ५ विकेट लिएका छन् । उनले एक खेलमा विकेट लिन सकेका थिएनन् भने तीन खेलमा एकएक विकेट लिएका थिए । एक खेलमा २ विकेट हात पारेका थिए । अदालतमा नटुंगिएको मुद्दाका कारण उनी मानसिक रुपमा विचलित बनिरहेका छन् ।

नेपालसँग राष्ट्रिय टीममा स्थान बनाउन सक्ने अन्य स्पिनरहरुमा सागर ढकाल (एसियाडमा पनि सहभागी), सूर्य तामाङ, श्याम ढकाल (मौसम), सागर ढकाल, सुसन भारीलगायत छन् । उनीहरुमध्ये सुसन अनुभवी हुन् । तर, उनको प्रदर्शनमा एकरुपता छैन । सूर्य, श्याम र सागरसँग अनुभवको कमी छ । नयाँ प्रतिभाको खोजी गर्ने हो भने अन्डर-१९ बाट दीपेश कँडेललाई तान्न सकिन्छ ।

आसन्न श्रृंखला टी-२० विश्वकप छनोटअघि तयारीको बलियो अवसर हो । हङकङ र यूएई नपालकै हाराहारीका टीम हुन् । विश्वकपको एसियाली छनोट पनि नेपालमै हुँदैछ । उक्त छनोटबाट फाइनल पुग्ने दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । ८ टोली सहभागी हुने एसियाली छनोट अक्टोबर ३० तारिखबाट सुरु हुँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!