भारतबाट गुप्तांगमा लागुऔषध लुकाएर ल्याउँदै गरेकी युवती पक्राउ

Posted on: 15 Oct, 2023

असोज २८, कैलाली | गुप्तांगमा लागुऔषध लुकाएर ल्याउँदै गरेकी एक युवतीलाई प्रहरीले कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ परेको छ। प्रहरीको लागुऔषध अनुसन्धान ब्युरो कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका– १, बस्ने २० वर्षीया अनुस्कासिंह ठकुरीलाई नाकाबाट पक्राउ गरेको हो ।

लागुऔषध खैरो हिरोइन ल्याइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उनले योनीभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हेरोइन बरामद गरिएको छ। नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत महिला स्वास्थ्यकर्मीको सहयोगमा योनीमा लुकाएको लागुऔषध निकालिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले पक्राउ परेकी युवती प्रयोगकर्ता हुन् वा कारोबारी हुन् भन्नेबारे अनुसन्धान भइरहेको बताए। खैरो हेरोइन भने भारतबाट ल्याइएको खुलेको उनको भनाइ छ। 

कैलालीको टीकापुर बसपार्कबाट प्रहरीले एक ग्राम लागुऔषध खैरो हेरोइनसहित शुक्रबार एकजनालाई पक्राउ गरेको छ। अछामको साँफेबगर घर भई टीकापुर बस्ने २२ वर्षीय मनोज भुललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चेकजाँचका क्रममा उनको साथमा लागुऔषध फेला परेको थियो। भारतसँगको लामो खुला सीमाका कारण कैलाली, कञ्चनपुरमा लागुऔषधको कारोबार हुने गरेको छ। चरेसबाहेक सबैजसो लागुऔषध सीमावर्ती भारतीय बजारहरूबाट लुकिछिपी ल्याउने गरिएको प्रहरीले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!